भोलिदेखि छहरे महोत्सव

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १०:४९

लिखु, नुवाकोटको लिखु गाउँपालिकामा प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ भोलि शुक्रबारदेखि सुरु हुने भएको छ ।

      ‘समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला, संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ छहरेचोकनजिकैको लिखु बगरमा फागुन १४ गतेदेखि २२ गतेसम्म महोत्सव हुनेछ । महोत्सवको तयारी पूरा भएको महोत्सवका संयोजक शेरबहादुर केसी (सानु केसी)ले जानकारी दिए । महोत्सवले गर्दा छहरेको लिखु बगर दुलही जसरी सिँगारिएको छ । महोत्सवको प्रचार-प्रसारलाई तीव्रता दिइरहेको छ । महोत्सवको गेट, मञ्च, मेला व्यवस्थापनदेखि लिएर प्रचार-प्रसारको काम भइरहेको केसीले बताए । मनोरञ्जन तथा बाल उद्यान, झाँक्रीको तयारीदेखि कलाकारको नामावलीलगायतका सम्पूर्ण कार्य सकिएको संयोजक केसीले बताएका छन् । महोत्सवमा स्टल निर्माण सम्पन्न भएर बुकिङसमेत भइसकेको छ । महोत्सवमा एक सय ५० स्टल रहनेछन् ।

       महोत्सव अवधिभरका लागि विशेष सुरक्षाको तयारी गरिएको छ । झन्डै दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । गीत–सङ्गीत क्षेत्रमा नयाँ कलाकारको आकर्षण बढाउन महोत्सव अवधिभर आयोजना गरिने नुवाकोट तारा-२०७७ प्रतियोगिता पनि महोत्सवको मुख्य आकर्षणको रूपमा रहनेछ ।