फिल्म हलमा च्याउ उत्पादन

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १३:०५

त्रिशूलीबजार, २५ वर्षअगाडि तत्कालीन विदुर नगरपालिका-१० त्रिशूली बजारमा फिल्म देखाउन निर्माण भएको त्रिशूली गंगामाई चलचित्र मन्दिर अहिले व्यावसायिक च्याउखेती उत्पादन गर्ने स्थलमा परिणत भएको छ ।

      पाँच सय सिट क्षमताको चलचित्र मन्दिरले व्यावसायिक सुरुवात नगर्दै बन्द भएको थियो । केही वर्ष फिल्म हल सञ्चालन भए पनि मापदण्ड नपुगेपछि बन्द भएको थियो । ०७२ को विनाशकारी भूकम्प आउनुभन्दा केही वर्ष अगाडिसम्म चलचित्र प्रदर्शन हुँदै आएको हलमा मापदण्ड नपुगेपछि बन्द हुन पुगेको थियो । अहिले उक्त हलका सञ्चालक ३२ वर्षीय नरेन्द्र अमात्यले च्याउखेती सुरु गरिरहेका छन् । मापदण्ड नपुगेपछि बन्द रहेको चलचित्र मन्दिरभित्र च्याउखेती सुरु गरेर अमात्यले केहीलाई रोजगारीसमेत दिएका छन् । नरेन्द्रका बुबा महेन्द्र अमात्यले स्थानीय केही व्यवसायीसँग मिलेर २५ वर्षअघि त्रिशूलीबजारमा गंगामाई चलचित्र मन्दिर निर्माण गरेका थिए ।

      झन्डै तीन रोपनी क्षेत्रफलमा फैलिएको सिङ्गो फिल्म हल केही वर्ष स्थानीयको भोज, पार्टी गर्ने स्थल बनेको थियो । बन्द हललाई नरेन्द्रले नयाँ योजनाको खोजी गर्दै सञ्चालनका लागि प्रशासन र नियामक निकायमा धाउँदा मापदण्ड नपुग्ने भएपछि विकल्प खोज्न थाले । नाटकघर सञ्चालन गर्ने थिएटरको रूपमा विकसित गर्नको लागि केही विशेषज्ञसँग छलफल पनि गरे, सबैले गफ मात्रै गरेपछि उनले व्यावसायिक रूपमा च्याउ खेती गर्न थालेका हुन् ।
वैभव मल्टी एग्रो फार्म एन्ड नर्सरी नामको एग्रो फार्म दर्ता गरेर उनले फिल्म हलभित्र च्याउखेतीको सुरुवात गरेका छन् । दिनभर विद्यालयमा अध्यापन गराउने नरेन्द्र फुर्सदको समय बिहान-बेलुका आफंँ च्याउखेती उत्पादन र बजार व्यवस्थापनमा खटिरहेका छन् । बुबाले सुरु गरेको चलचित्र मन्दिरलाई अहिले पुनर्निर्माण गरी सञ्चालन गर्न २५ करोडभन्दा बढी खर्च हुने भएपछि उनले फिल्म हल सञ्चालन गर्ने योजना छाडिदिए । सुरुवातमा थोरै च्याउ लगाएर परीक्षण गरेका उनले च्याउको व्यावसायिक यात्रा राम्रो रहेको देखेपछि लगानी बढाउँदै स्थानीयलाई रोजगारी दिइरहेका छन् ।

      ३०-४० हजार रुपैयाँ कमाउन लाखौँ रुपैयाँ तिरेर बिदेसिनुभन्दा आफ्नै ठाउँमा सानो लगानीबाट राम्रो आम्दानी गर्न सक्ने उनी बताउँछन् । वैदेशिक रोजगारीमा जान ठिक्क परेका दुईजनालाई अहिले आफ्नै फार्ममा रोजगारी दिएर उनले राखेका छन् । सुरुमा गरेको परीक्षणमा उत्कृष्ट च्याउ उत्पादन भएपछि हलभरि नै अहिले च्याउ लगाएका छन् । फार्मबाट नै दुई सय रुपैयाँ केजीमा अहिले च्याउ बिक्री हुँदै आएको छ । भएको संरचनालाई प्रयोग गरी च्याउखेती गर्दा च्याउको आवश्यक सामग्रीबाहेक अन्य लगानीसमेत उनले गर्नुपरेको छैन । वर्षौंदेखि यत्तिकै खेर गइरहेको संरचनाको समेत सदुपयोग भइरहेको छ । च्याउसँगै उनले विभिन्न फलफूलका बिरुवाको नर्सरी, गार्डेनमा लगाउने सजावटका बिरुवालगायतको नर्सरीसमेत सँगै लैजाने योजना बनाएका छन् ।