
कोलनी, नुवाकोट जिल्लाको एक मात्र सरकारी अस्पताल त्रिशूली अस्पतालमा अत्याधुनिक माइक्रो प्याथोलोजी प्रयोगशाला सेवा सञ्चालनमा आएको छ ।
प्याथोलोजीसम्बन्धी सम्पूर्ण सेवा आइतबारदेखि अस्पतालबाटै हुने र अन्यत्र जानुपर्ने बाध्यता हटेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दीपेन्द्र पाण्डेले जानकारी दिए । यसअघि प्रयोगशाला स्थापना हुनुअघि विभिन्न जाँचका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले अत्याधुनिक प्रविधि र दक्ष प्राविधिकसहितको सेवा दिने मुख्य उद्देश्यका साथ सञ्चालनमा ल्याएको जानकारी दिए ।
प्रयोगशाला प्रमुख तथा माइक्रो बायोलिष्ट ज्ञानेश्वर थारूले प्रयोगशालाबाट विभिन्न हर्मोन, भिटामिन, क्यान्सर, कल्चरसहित नियमित जाँच सुचारु हुने बताए ।