अभिलाषीको एकल कविता वाचन

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १६:०६
Logo of trishuli prawaha

विदुर, युवा कवि ‘देवकी अभिलाषी’को एकल कविता वाचन विदुरमा सम्पन्न भएको छ ।

     नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा कवि अभिलाषीले आफ्नो साहित्यिक यात्राका क्रममा लेखेका कविता वाचन गरेकी थिइन् । विगत १५ वर्षदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएकी कवि अभिलाषीले नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७७ मा तृतीय स्थान हासिल गर्न सफल भएको ‘आमा : एक विश्व विद्यालय’ कवितासमेत वाचन गरेकी थिइन् । दोलखा स्थायी घर भएकी अभिलाषीको सिर्जनामा महिला र प्रकृतिको भावधारा पाइन्छ । उहाँका ‘धरातलभित्रको जिन्दगी’, ‘भावनाको फूलहरू’ नामका कवितासङ्ग्रह र ‘आँसु पिउँदै हाँस्नेहरू’ नामक गीतसङ्ग्रह प्रकाशन भइसकेका छन् । कवियत्री अभिलाषी बुटिक व्यवसायी पनि हुन् ।

     एकल कविता वाचन कार्यक्रमका प्रमुख अतिथि, विगटित प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले उनको राजधानी कविता वाचन गरेर उद्घाटन गरेका थिए । राजधानीको चक्रपथ, धुलोलगायतका तार्किक विषय समेटेर समसामयिक राजनीतिक अस्थिरतालाई राजधानी कवितामा उनले प्रतिबिम्बित गरेकी थिइन् । कार्यक्रममा कवि श्रीराम श्रेष्ठ, रामकृष्ण भट्ट, रामकृष्ण ‘अमर’, भगवती लामालगायतले कविता वाचन गरेका थिए ।