गोसाइँकुण्ड र चौतारीको एकीकृत कारोबार सुरु

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १६:०९
Logo of trishuli prawaha

बट्टार, नुवाकोटमा गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारी संस्था लि. बट्टार र चौतारी बचत तथा ऋण सहकारी संस्था लि. विदुरबीच एकीकरण सम्पन्न भएको छ । दुवै सहकारीले अर्को हप्तादेखि एकीकृत कारोबार सुरुवात गर्ने तयारी गरिरहेका छन् ।

       गोसाइँकुण्ड सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डित र चौतारी सहकारीका अध्यक्ष गोपालबहादुर सापकोटाको संयुक्त अध्यक्षतामा शनिबार सम्पन्न एकीकरण सभाको उद्घाटन विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गरेका थिए । सो अवसरमा प्रमुख अतिथि पण्डितले सहकारी एकीकरण सरकारको नीतिअनुरूप भएको र सहकारी संस्थालाई सरकारको पक्षबाट पनि आवश्यक सहयोग गर्न सकिने बताए । उक्त सभा संस्थाको विनियमको २०६६ को नियम २९ को उप नियम ४ बमोजिम रितपूर्वक बोलाइएको तथा सेयरहोल्डरको दुईतिहाइ बैठकले सहकारी एकीकरण गर्ने प्रस्ताव पारित गरेको छ । सो अवसरमा एकीकरण संयोजक पुष्पराज लोहनीले एकीकरण कार्य सर्त तथा विधि तथा एकीकरणका सवालका उत्तर-चढावका सन्दर्भमा स्पष्ट पार्दै सरकारको नीतिअनुरूप सहकारीका सदस्य अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

      एकीकरण सभामा एकीकरण सर्त कार्यविधिका सन्दर्भमा छलफल भएको थियो । सभामा विदुर नगरपालिका– २ का अध्यक्ष टलकमान श्रेष्ठ, जिल्ला सहकारी सङ्घका प्रतिनिधि ओमप्रकाश श्रेष्ठ, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, विदुर नगर सहकारी सञ्जालका संयोजक नवीन्द्रमान प्रधान, संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । सो सभाले इन्द्रबहादुर पण्डितको अध्यक्षतामा उपाध्यक्ष बाबुराम लामिछाने, सचिव सुकुमान डङ्गोल, कोषाध्यक्ष दीपकराज सिलवाल, सदस्यहरू गंगालाल श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, राजेन्द्रबहादुर प्याकुरेल, सन्तोष उप्रेती र लक्ष्मीकुमारी प्रधान रहेको सञ्चालक समिति चयन गरेको छ । त्यस्तै, लेखा समिति संयोजक ध्रुवप्रसाद अर्याल सदस्यहरू ऋषिप्रसाद रिजाल र विश्वराज भट्टराई रहेको छ । सो सभाले संस्था एकीकरणका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद समाधानका लागि गोपालबहादुर सापकोटाको संयोजकत्वमा पुष्पराज लोहनी र भुवनलाल राजभण्डारी रहेको विवाद उपसमिति गठन गरेको छ ।

     संस्थामा करिब तीन हजार तीन सय सदस्य छन् भने सेयरपुँजी चार करोड ५० लाख रहेको छ भने करिब २५ करोडको कारोबार रहनेछ । संस्था एकीकरणपश्चात्को कारोबार एकीकरण गर्न ०७७ साल फागुन ८ गतेदेखि १४ गतेसम्म कारोबार बन्द गरेको थियो । नुवाकोट जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले जिल्लाका स्थानीय तहलाई समेटेर समग्र आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने संस्थाका सचिव सुकुमान डङ्गोलले बताए ।