शिवपुरी अध्यक्ष गोल्डकप फुटबल सुरु

  • त्रिशूली प्रवाह
  • १९ चैत्र २०७७, बिहीबार १२:२७

शिवपुरी, नुवाकोटको शिवपुरी गाउँपालिकाले आयोजना गरेको शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । फुटबल प्रतियोगिताको उद्घाटन पूर्वअर्थमन्त्री तथा संविधानसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले विशेष समारोहबीच गरेका थिए ।

       गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले र स्वागत मन्तव्य उपाध्यक्ष मञ्जु केसीले व्यक्त गरेका थिए । सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीलगायत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरूको उपस्थिति रहेको थियो । जिल्लाभित्रको स्थानीय तहबीच आपसी सद्भाव र भाइचारा वृद्धि गर्ने उद्देश्यले १२ वटै पालिकाको सहभागितामा बुधबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरिएको उपाध्यक्ष मञ्जु केसीले बताइन् । गाउँपालिकाको केन्द्र रहेको बुढिसेराबाट १ दशमलव ५ किलोमिटरको दूरीमा वडा नं. ७ स्थित बिर्ताको चौरमा रहेको रंगशालामा आठ दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटनस्थल शिवपुरी रंगशाला बेहुलीजस्तै सिँगारिएको छ । रंगशाला अहिले ध्वजापताका र राष्ट्रिय झण्डाले सजिएको छ ।

      प्रतियोगितामा सहभागी भई प्रथम हुने समूहलाई प्रमाणपत्रसहित ६ लाख, दोस्रो हुनेलाई चार लाख र तेस्रो हुनेलाई दुई लाख रुपैयाँ प्रदान गरिने शिवपुरी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जिल्लामा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबल खेलको आयोजना गरिएको बताए । यस खेलबाट जिल्लाभित्र लुकेर बसेका खेलाडीको पहिचान हुने र गाउँपालिकामा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्ने र निर्माण सम्पन्न रंगशालाको प्रचार–प्रसार गर्ने उद्देश्य रहेको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । बुधबार दुप्चेश्वर गाउँपालिका र आयोजक शिवपुरी गाउँपालिकाबीच खेल भएको थियो । फुटबल प्रतियोगितामा चार समूह विभाजन गरेर खेलाइएको छ । समूह ‘ए’ मा शिवपुरी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिका, समूह ‘बी’ मा बेलकोटगढी नगरपालिका लिखु र म्यागङ गाउँपालिका, समूह ‘सी’ मा ककनी, सूर्यगढी र तारकेश्वर गाउँपालिका र समूह ‘डी’ मा विदुर नगरपालिका, किस्पाङ र तादी गाउँपालिका रहेका छन् ।