कामदार नफर्केपछि सुक्खा बन्दरगाह निर्माण रोकियो

  • त्रिशूली प्रवाह
  • १९ चैत्र २०७७, बिहीबार १४:५९
  • सरस्वती न्यौपाने

धुन्चे, मित्रराष्ट्र चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवागढी नाकामा निर्माण भइरहेको सुक्खा बन्दरगाह कोभिड–१९ को खोप लगाउन गएका चिनियाँ कामदार नफर्केपछि तीन महिनादेखि निर्माण कार्य अलपत्र परेको छ ।
अन्तर्राष्ट्रिय नाका रसुवागढीमा निर्माण भइरहेको सुक्खा बन्दरगाह निर्माणमा संलग्न कामदारको कारण तीन महिनादेखि काम रोकिएको छ । कोभिड– १९ विरुरूद्ध खोप लगाउन गएका चिनियाँ कामदार नफर्केकाले काम सुरु हुन नसकेको हो । खोप लगाउन गएको कर्मचारी तीन महिनादेखि नफर्केपछि काम सुचारु हुन नसकेको बन्दरगाह निर्माणमा संलग्न इन्जिनियर शोभाकान्त राउतले जानकारी दिए । उनका अनुसार अहिलेसम्म बन्दरगाह निर्माणको काम १३ प्रतिशत सम्पन्न भएको छ ।

       चीनको आर्थिक तथा प्राविधिक सहयोगमा टिमुरेमा निर्माण भइरहेको सुक्खा बन्दरगाहले नेपाल–चीनबीचको व्यापारलाई थप सहज बनाउने अपेक्षा रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले गरेका छन् । भौतिक संरचनाको अभावमा सञ्चालन हुँदै आएको व्यापारलाई सहज बनाउनका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह निर्माण गरिदिन लागेको हो । बन्दरगाहका लागि १२ करोड ४० लाख चिनियाँ युआन लाग्ने अनुमान गरिएको छ । सीमानाकाबाट करिब साढे दुई किलोमिटरमा पर्ने बन्दरगाह झन्डै पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । बन्दरगाहमा तीन सय ५० वटा ठूला ट्रक तथा साना गाडी अट्ने पार्किङस्थल निर्माण हुनेछ । छिमेकी चीनले प्राथमिकतामा राखेको केरुङनजिकै निर्माण हुन लागेको सुक्खा बन्दरगाहको जग्गा अधिग्रहणको तथा मुआब्जाका काम भएपछि बन्दरगाह निर्माणको काम थालनी भएको हो । बन्दरगाह निर्माणका लागि त्यहाँ चार वर्षअघि नै जग्गा अधिग्रहण सुरु भएको थियो ।

      चीनले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको भए पनि विनाशकारी भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आएको छ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट पाँच र सर्वसाधारणको तीन हेक्टर जग्गा अधिग्रहण भएको थियो । बन्दरगाहमा एक मुख्य भवन बन्नेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालय रहनेछन् । त्यस्तै, सात सय ५० वर्गमिटरको क्षेत्रफलमा गोदान घर निर्माण हुनेछ । चीनले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङभन्दा पाङसिङमा आधुनिक बन्दरगाह निर्माण थालेको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी चार सय ५० किलोमिटर रहेको छ ।

      नेपालबाट चीन प्रवेश गर्ने एक मात्र रसुवागढी नाकाको भोटेकोसी किनारमा बन्दरगाह निर्माणको काम अघि बढाइएको हो । सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएपछि निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका तर्फबाट आयोजना प्रबन्धक याङ र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।