बाराही मन्दिर शिलान्यास

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०७८, मंगलवार १३:३६

बट्टार, नुवाकोटको विदुर नगरपालिका-२ बट्टारको बाराहीथानमा रहेको ऐतिहासिक एवम् धार्मिक महत्वको बाराहीदेवी मन्दिर पुनर्निर्माण सुरु भएको छ । उक्त मन्दिर पुनर्निर्माणका लागि जेठ १२ गते क्षमापूजा र बुधबार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले शिलान्यास गरेका छन् ।

     मन्दिर निर्माणका लागि दुई करोड १९ लाखको गुरुयोजना बनेको छ । दश रोपनी जग्गामा मन्दिरसहित पिकनिक पार्क बनाउने योजना रहेको छ । उक्त मन्दिर निर्माणका लागि विदुर नगरपालिकाले गत दुई आ.व.मा १ वडा, १ उद्यान कार्यक्रमअन्तर्गत १० लाख प्रदान गरेको छ । चालू आ.व.मा बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री केशव पाण्डेको पहलमा १० लाख बजेट प्राप्त भएको छ । उक्त बजेटबाट मन्दिर निर्माण, बाउन्ड्री वाल, मेन गेट, फुटट्रेल, पार्किङ स्थल, शौचालय, सेफ्टीट्याङ्की निर्माण हुनेछ । मन्दिर निर्माणका लागि स्थानीयले पाँच लाखभन्दा बढी सहयोग जुटाइसकेका छन् ।

      जिल्लाको भैरवी र जालपादेवी मन्दिरजत्तिकै पुरानो र धार्मिक महत्वको शक्तिपीठ बाराही मन्दिरको खासै स्वरूप थिएन । धार्मिक विश्वास गर्दै ढुङ्गामा मात्र थपना रहेको देवीलाई स्थानीयले पूजा गर्दै आइरहेका थिए । स्थानीयवासीको गत महिनाको भेलाले बाराही देवीको मन्दिर बनाउन र वरपर हरियाली उद्यान निर्माण गर्न निर्माण समिति बनाएको छ । भेलाले बाराही मन्दिर तथा हरियाली उद्यान निर्माण समितिको अध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठलाई चयन भएका छन् । उक्त निर्माण समितिको उपाध्यक्षमा देवनारायण श्रेष्ठ, सचिवमा रामेश्वर पाण्डे, कोषाध्यक्षमा गोकुल श्रेष्ठ र सदस्यमा धु्रवलाल श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, शम्भु अमात्य, नवीन्द्रमान श्रेष्ठ, इन्जिनियर रामकृष्ण राजभण्डारी, मंगलदास रञ्जित र हिराकाजी कुमाल रहेका छन् ।