संगम सहकारीद्वारा आइसियू बेड हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०७८, मंगलवार १३:४१

विदुर, नुवाकोट जिल्लाको विदुर नगरपालिका-४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिशूली अस्पताललाई आइसियू बेड इलेक्ट्रिक र प्यासेन्ट मनिटर उपलब्ध गराएको छ ।

      कोभिड-१९ उपचारमा आइसियू बेड अभाव भइरहेको समयमा संगम सहकारीद्वारा त्रिशूली अस्पताललाई दुईवटा आइसियू बेड र मनिटर आइतबार हस्तान्तरण गरेको छ । सहकारीका अध्यक्ष नारायण श्रेष्ठले अस्पतालका व्यवस्थापक रिकेस रानालाई आइसियू बेड र मनिटर हस्तान्तरण गरेका हुन् । त्यसैगरी, उक्त अवसरमा सहकारी र विदुर नगरपालिका-९ कोलेनी निवासी तथा ओकेयामा इन जापानका संयोजक नवराज बस्नेतको आर्थिक लगानीमा अर्को आइसियू बेड र मनिटर सेट विदुर नगरपालिका-९ का अध्यक्ष शनि चित्रकारमार्फत अस्पतालका व्यवस्थापक रानालाई हस्तान्तरण गरिएको थियो । कोरोना भाइरसविरुद्ध लड्न सरकार मात्रै नभएर समाजका सबै अङ्गको उत्तिकै भूमिका रहने भएकाले सहकारी र सहकारीको समन्वयमा ओकेयामा इन जापानका संयोजक बस्नेतको सहयोगमा उक्त सामग्री सहयोग गरिएको सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । हस्तान्तरण गरिएको आइसियू बेड र मनिटरको मूल्य करिब तीन–तीन लाख रहेको सहकारीका कोषाध्यक्ष श्रेष्ठले बताए । अस्पतालका व्यवस्थापक रानाका अनुसार हाल ६ आइसियू र चार भेन्टिलेटर गरी १० बेड रहेकोमा अबदेखि कोभिड उपचारका लागि आइसियू बेड १२ पुगेको छ । सामाजिक उत्तरदायित्वबोध गरी यसप्रकारको सहयोगले नुवाकोट, रसुवा र धादिङका नागरिकको उपचारमा सहजता भएको छ ।