चीनको सहयोगमा अक्सिजन र मास्क भित्रियो

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०७८, मंगलवार १३:४७
  • सरस्वती न्यौपाने

धुन्चे, चीन सरकारले अनुदानस्वरूप दिएको १५ सय अक्सिजन सिलिन्डर र मास्क केरुङबाट रसुवागढी नाका हुँदै गत मंगलबार नेपाल आइपुगेको छ ।

      रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार जेठ ७ गते १५ सय थान अक्सिजन सिलिन्डर र माक्स बोकेका तीनवटा चिनियाँ गाडी शनिबार नेपाल आउने भनिए तापनि मंगलबार मात्र नेपाल आएका हुन् । ०७१ सालदेखि अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको नाकाबाट दैनिक तीन सयको हाराहारीमा सवारीसाधन आवत-जावत हुने गथ्र्यो । ०७४ साल भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि व्यापार-व्यवसाय बढ्दै गएको थियो । प्रमुख भन्सार अधिकृतले मंगलबार चीनको समय १० बजे र नेपाली समय ८ बजे उक्त सामान नेपाल आइपुगेको बताए । उक्त सामग्री स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझेका छन् । चिनियाँ गाडीमा आएको अक्सिजन सिलिन्डर र मास्क नेपाली गाडीमा लोड भइरहेको छ । उक्त सामग्री मंगलबार नै स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखामा पठाइने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।

      चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर अनुदानमा दिने घोषणा गरेको भए तापनि त्यसमध्ये नेपाल वायुसेवा निगमको जहाजले दुई हजार सिलिन्डर बेइजिङबाट काठमाडौं ल्याइसकेको छ । त्यसमध्ये स्थलमार्ग हँुदै रसुवागढी नाकाबाट उक्त सामग्री नेपाल भित्रिएको हो । चीनले आफ्नो गाडीमा नेपाली भूभागमै सामान ल्याइदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा गाडीमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । पछिल्लो समय रसुवागढी नाकाबाट व्यवसायीले मगाएका स्वास्थ्य सामग्री र चिनियाँ सहयोगका सामग्री नेपाल भित्रिरहेको छ । चीनले एक वर्ष अघिदेखि रसुवागढी नाका एकतर्फी रूपमा मात्र सञ्चालन गरेको छ ।