बहुउद्देश्यीय सामुदायिक भवनको शिलान्यास

  • त्रिशूली प्रवाह
  • २७ जेष्ठ २०७८, बिहीबार ११:४९
  • शशिकुमार डंगोल

बेत्रावती, रसुवा र नुवाकोटको संगमस्थल ऐतिहासिक, धार्मिक क्षेत्र बेत्रावतीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको शिलान्यास भएकोछ ।

      गोसाइँकुण्ड युवा क्लब, बेत्रावती नुवाकोटले निर्माण गर्न लागेको बेत्रावती बहुउद्देश्यीय सामुदायिक भवनको धार्मिक, परम्परा र विधी शास्त्रानुसार विदुर नगरपालिका वडा नं.-१० का अध्यक्ष गणेश नेपालले जेठ २३ गते आईतबार शिलान्यास गर्नुभएको थियो । भवन निर्माण झण्डै १ करोड २५ लाख बजेट रकम लाग्ने अनुमान गरिएको छ । उक्त रकममध्ये गोसाइँकुण्ड युवा क्लबले २५ प्रतिशत ब्यहोर्ने गरी निर्माण सम्पन्न गर्न लागिएको र बाँकी नपुग रकम विदुर नगरपालिका, वडा कार्यालय तथा विभिन्न दातृ संस्था, समाजसेवीको सहयोगबाट जुटाईने लक्ष्य राखिएको निर्माण कमिटीका संयोजक सुरज लवटले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो ।

      सामुदायिक भवन निर्माण सम्पन्न पश्चात् बेत्रावतीबासीका लागि पार्टी प्यालेस, सभाहल, विवाह, ब्रतबन्ध, बैठक, साँस्कृतिक कार्यक्रमलगायतका सार्वजनिक कामको प्रयोगमा ल्याईने स्थानीय समाजसेवी एवं निर्माण कमिटी सदस्य दिपु डंगोलले बताउनु भयो । बेत्रावतीबासीको नै हितमा यो भवन निर्माण हुन लागेकोले बेत्रावतीबासी सबै मिलेर यो कार्य सम्पन्न गर्नु र गराउनु हुन वडाध्यक्ष नेपालले सो अवसरमा आग्रह गर्नुभयो । भवन निर्माण भएपछि बेत्रावतीबासीको लागि सामाजिक कार्य गर्न सुविधा पुग्नेछ । क्लबका संस्थापक अध्यक्ष अष्टमान डंगोलले सार्वजनिक रूपमा सबैलाई भवन निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभएको छ । बेत्रावतीबजारको ढाडेबगरको सार्वजनिक जग्गामा बन्न लागेको उक्त भवन बन्न सके सम्पूर्ण बेत्रावतीबासीले सार्वजनिक रूपमा गरिने कुनै पनि कामको लागि सहजता हुने स्थानीय साँस्कृतिककर्मी एवं समाजसेवी तुलसीलाल डंगोलले बताउनु भयो । भवन निर्माण भएपछि क्लबको संरक्षणमा रहने गरी निर्माण कमिटीद्वारा भवन हस्तान्तरण गरिने छ । भवन निर्माण समिति सुरज लवटको संयोजकत्वमा गठन भएको छ । उक्त समितिको सदस्यमा सजन श्रेष्ठ, ईश्वर थापामगर, पर्वत डंगोल, सुवास डंगोल, ज्ञानकुमार डंगोल र कुमार डंगोल रहेका छन् । भवन निर्माण अनुगमन समिति ईश्वरलाल श्रेष्ठ संयोजक र अष्टमान डंगोल, हरिकृष्ण डंगोल, सोमलाल लवट र मंगलदास लवट सदस्य रहेका छन् ।