हाम्रा कुरा : कोरोनाको खोप सुनिश्चित गर !

  • त्रिशूली प्रवाह
  • २१ असार २०७८, सोमबार १२:२७

कोरोनाको दोस्रो लहर सेलाउन नपाउँदै तेस्रो लहरको चिन्ता बढ्न थालेको छ । सरकारले खोप कहिले ल्याउने हो टुङ्गो लागिसकेको छैन । सम्पन्न र शक्तिशाली देशले आफ्ना अधिकांश नागरिकलाई खोप लगाइसकेका छन् । बाँकी देशले पनि खोप सुनिश्चित गरिसकेका छन् ।

     हाम्रो देशले पनि पहिलो डोज खोप लगाएको थियो । खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोजको खोप लगाउन अझै सुनिश्चित भएको छैन । दुईदेखि तीन सातामा लगाउनुपर्ने खोप ६ महिनापछि पनि लगाउन नपाउँदा थप त्रास फैलिएको छ । सरकारले खोप ल्याउनभन्दा पनि सरकार टिकाउनमै अधिकांश समय खर्चिरहेकाले खोप ल्याउन नसकेको टीका-टिप्पणी भइरहेको छ । सरकारले अनुदान र सुविधाको खोप ल्याउन खोज्दा खोप ल्याउने योजना सुनिश्चित हुन नसकेको हो । सरकारले मागेर र सुविधामा मात्र होइन, किनेरै भए पनि खोप ल्याएर नागरिकलाई लगाउनुपर्छ । जनताले खाई-नखाई तिरेको करबाट अन्य सुविधा दिन नसके पनि कोरोनाविरुद्धको खोप सुनिश्चित गर्नुपर्छ । कोरोना महामारीबाट जनता बचाउन कर तिरेको सुविधा दिनुपर्छ ।

      कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन् । पहिलो खोप लगाएकाले खोप लगाउने टुङ्गो नलागेसम्म अन्य प्राथमिकतामा परेकालाई लगाउनु भनेको अन्याय हुनेछ । उमेर समूहको नाममा पहुँचवालाले खोप लगाएको समाचार बाहिरिएको छ । स्वास्थ्य सेवा विभागले कोभिड-१९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन भर्नेको सङ्ख्या साढे १३ लाख रहेको जानकारी दिएको छ । गत वैशाख ३१ गते सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो । सरकारले सबै नागरिकलाई पुग्ने खोप ल्याउन नसक्ने आकलन गरेर खोप लगाउने चाहनेलाई अनलाइन फाराम भर्न आह्वान गरेको थियो । उक्त फाराम भर्नेले खोप कहिले पाउने टुङ्गो छैन । मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्ति आफैँले प्रि-रजिस्ट्रेसन फारम भर्ने तथा भराउनका लागि वेबसाइट र एपको व्यवस्था गरेको छ ।

     विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको नयाँ भेरियन्ट डेल्टा प्लसमा खोपको असर प्रभावहीन हुन सक्ने बताएको छ । हालसम्मकै उच्च सङ्क्रामक मानिएको डेल्टा भेरियन्ट खोपको प्रभावकारिता कम भएको र म्युटेसन भएर आएको नयाँ भेरियन्टमा समेत खोपको असर न्यून हुन सक्ने डब्लुएचओले विज्ञप्तिमा प्रकाशित गरेर आकलन गरेको छ । बदलिँदो स्वरूपको ‘डेल्टा प्लस’बाट नागरिक बचाउन खोप अपरिहार्य भएको छ । नेपाल, भारतसहित विश्वका ११ देशमा डेल्टा प्लसको सङ्क्रमण देखिसकेको छ । स्वरूप परिवर्तन भएर आएको नयाँ भेरियन्टमा खोप र इन्फेक्सन इम्युनिटी प्रभावहीन हुने चर्चासँगै थप चिन्ता बढाएको छ । सरकारमाथि कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था छिटो गर्न चौतर्फी दबाब आइरहेको छ ।