अधिवेशनको तयारीमा नेपाली काङ्ग्रेस नुवाकोट नेतृत्वका आकाङ्क्षीको दौडधुप सुरु

  • त्रिशूली प्रवाह
  • २१ असार २०७८, सोमबार १२:३२

नेपाली काङ्ग्रेस नुवाकोटले १४औँ महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा अधिवेशनको तयारी थालेको छ । जिल्ला अधिवेशनका लागि नेपाली काङ्ग्रेस नुवाकोटमा १४ हजार एक सय ४२ क्रियाशील सदस्यको नाम स्वीकृत भएको छ ।

      स्वीकृत नाममध्ये २० वटा दोहोरो परेकाले हट्न सक्ने र नवीकरण छुटेको एक सय २० जनाको निवेदन स्वीकृत हुन बाँकी रहेकाले १४ हजार दुई सयभन्दा बढी क्रियाशील सदस्य हुने जिल्ला पार्टी सचिव सुरेन्द्र अधिकारीले जानकारी दिए । केही क्रियाशील सदस्यको दुई महिनाको बीचमा मृत्युसमेत भइसकेकाले सदस्यको सूचीबाट हटाउन बाँकी रहेकोसमेत उनले बताए । काङ्ग्रेस नुवाकोटले दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र, १२ वटा स्थानीय तह र ८८ वटा वडाको अधिवेशन केन्द्रीय तालिकाअनुसार तयारी सुरु गरेको छ । आगामी साउन १२ गते वडाबाट अधिवेशन सुरु हुने जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

      गाउँपालिका र नगरपालिकाको अधिवेशन आगामी साउन १६ गते, प्रदेश सभा, क्षेत्रीय अधिवेशन २० गते र प्रतिनिधिसभा क्षेत्र नं. १ र २ को अधिवेशन साउन २३ गते गर्ने तयारी भइरहेको छ । केन्द्रकै तालिकानुसार साउन २६ गते जिल्ला अधिवेशन सम्पन्न हुने सभापति केसीले बताए । गत १३औँ अधिवेशनको सदस्यको हाराहारीमा नयाँ सदस्यता वितरण गरेकाले क्रियाशील सदस्य दोब्बर हुने बताइएको छ । क्रियाशील सदस्य सङ्ख्या सबैभन्दा बढी विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका रहेको छ । जिल्ला अधिवेशनको तयारीसँगै नेतृत्व हत्याउन आकाङ्क्षी काङ्ग्रेसका नेताहरूको दौडधुप सुरु भएको छ । केन्द्रमा संस्थापन र संस्थापनइतर पक्षको प्रत्यक्ष असर जिल्लामा देखिन थालेको छ । आगामी १४औँ जिल्ला अधिवेशनमा हालका सभापति जगदीश्वरनरसिंह केसी विधानले गर्दा उठ्न नपाउने भएपछि उनले आफूनिकट पक्षका नेतासँग परामर्श सुरु गरेका छन् ।

      विगतको अधिवेशनमा केन्द्रिय सदस्य डा. रामशरण महत र अर्जुननरसिंह केसी दुई धारमा उभिएका थिए । अहिले दुवै नेता एक भएर जिल्ला अधिवेशनको तयारीमा लागेका छन् । केसी र महत केन्द्रमा संस्थापनइतर समूहमा आबद्ध छन् । जिल्लामा संस्थापन पक्षको नेतृत्व सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाले विगतका अधिवेशनदेखि नै गरिरहेका छन् । जिल्लामा हुने हरेक कार्यक्रममा संस्थापन पक्षधर र संस्थापनइतर पक्ष एउटै कार्यक्रममा सहभागी भएको कमै देखेको कार्यकर्ता बताउँछन् । आगामी जिल्ला अधिवेशनमा अर्जुननरसिंह केसी र डा. रामशरण महतको तर्फबाट सभापतिको आकाङ्क्षी आधा दर्जन जिल्ला नेता देखिएका छन् । डा. केदारनरसिंह केसी, सुरेन्द्र अधिकारी, रमेश महत, महेन्द्र थिङ तामाङ, कृष्ण कुइँकेल आकाङ्क्षी देखिएका छन् । यी नाम नै सम्भाव्य रहेको केसी, महत समूहका एक नेताले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

     त्यसैगरी, संस्थापन पक्षबाट जिल्ला सभापतिमा धु्रव अधिकारी, सन्तमान तामाङ, चोकराज शाक्य, फैसिङ तामाङ आकाङ्क्षी देखिएका छन् । जिल्लाको सबैभन्दा बढी क्रियाशील सदस्य रहेको विदुर नगरपालिकामा नगर सभापतिको आकाङ्क्षी दुवै समूहबाट गरेर एक दर्जन रहेका छन् । आगामी नगर अधिवेशनमा सभापतिका लागि ताराबहादुर कार्की, शंकर पाण्डे, हरिलाल श्रेष्ठ, राजेन्द्र अर्याल, बिन्दा अर्याल, केसी–महत समूहबाट आकाङ्क्षी देखिएका छन् भने संस्थापन पक्ष अर्थात् बहादुरसिंह लामा, डा. प्रकाशशरण महत पक्षबाट गीता अमात्य, लक्ष्मण श्रेष्ठ, भरत खड्का, राजु थापा, वसन्त ठकुरी आकाङ्क्षी देखिएका छन् । दुवै समूहका आकाङ्क्षी नगर अधिवेशनमा सभापतिको उम्मेदवारका लागि छलफल र केन्द्रीय नेताको आशीर्वाद थाप्न दौडधुप सुरु गरिरहेका छन् । नगर सभापति नै आगामी स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार हुने भएकाले पनि नगर अधिवेशनको महत्व बढेको छ । आगामी स्थानीय निर्वाचनमा मेयरका आकाङ्क्षीहरू अहिले नगर अधिवेशन कब्जा गर्न तयारीमा समूहगत लागेका छन् । त्यसैगरी, क्रियाशील सदस्यको सङ्ख्या दोस्रो नम्बरमा रहेको बेलकोटगढी नगरपालिकामा नगर सभापतिका लागि आधा दर्जन नेता आकाङ्क्षी देखिएका छन् । संस्थापन र संस्थापनइतर पक्षमा खुल्न नसकेका लेखनाथ मुडभरी, बद्री त्रिपाठी, वैकुण्ठ पाण्डे, यादव नेपाल, इन्द्र लामा आकाङ्क्षी देखिएका छन् । बेलकोटगढी र विदुर नगरपालिकामा अर्जुननरसिंह केसीको जसले आशीर्वाद र विश्वास पाउँछ उसले बाजी मार्ने जिल्लास्तरीय एक नेताले बताए ।

       विदुरको हालका नगर सभापति नेत्रप्रसाद ढकाल र बेलकोटगढी नगरका सभापति गोकुल दाहाल, बुढ्यौलीको कारण मैदानमा नउत्रिने घोषणा गरिसकेका छन् । संस्थापन अर्थात् बहादुर/प्रकाशशरण पक्षबाट धु्रव अधिकारी र संस्थापनइतर अर्थात् अर्जुन-रामशरण पक्षबाट सुरेन्द्र अधिकारी नै अन्तिममा सभापतिको उम्मेदवार हुने चर्चा काङ्ग्रेस वृत्तमा चलेको छ । विगतमा जिल्ला कार्यसमितिका सभापति भइसकेका ध्रुव अधिकारी र वर्तमान जिल्ला कार्यसमितिका सचिव सुरेन्द्र अधिकारी सहोदर दाजुभाइ हुन् । विदुर नगरपालिकाको सभापतिमा नुवाकोट उद्योग वाणिज्य सङ्घका हालका अध्यक्ष ताराबहादुर कार्की र वरिष्ठ उपाध्यक्ष गीता अमात्यबीच प्रतिस्पर्धा हुने अड्कल काङ्ग्रेसका नेता-कार्यकर्ताले गरिरहेका छन् ।