औषधि र फलफूलजन्य बिरुवा निःशुल्क वितरण

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १३:३९

विदुर, बर्सेनि बिरुवा वितरण गर्दै आएको वन डिभिजन कार्यालय नुवाकोटले यस वर्ष पनि जिल्लामा ८० हजार बिरुवा वितरण सुरु गरेको छ । मनसुन भित्रिएसँगै वन डिभिजन कार्यालय नुवाकोटले निःशुल्क बिरुवा वितरण सुरु गरेको छ ।

        डिभिजन वन कार्यालय नुवाकोटसहित यस कार्यालयमातहतमा रहेका सबडिभिजन ककनी, शिवपुरी, खरानीटार, देउराली, रातमाटे र विदुरबाट उत्पादन भएको बिरुवा निःशुल्क वितरण भइरहेको छ । वन कार्यालय नुवाकोटका रेन्जर तथा सूचना अधिकारी रमेश दुलालले जिल्लाका सामुदायिक र निजी खाली जग्गामा वृक्षरोपण गर्न बिरुवा वितरण गरिरहेको बताए । वनजन्य बिरुवामा डालेघाँस, फलफूल र जडीबुटीका बिरुवा वितरण गरिरहेको उनले बताए ।
वन कार्यालयको नर्सरीमा उत्पादन भएका चाँप, सिसौ, खयर, इपिलइपिल, लप्सी, अमलालगायतका बिरुवा वितरण भइरहेको छ । जिल्लाको नर्सरीमा नभएको ओखर, कागती, आँप, लिची, एभोकाडो, अनार, कटहरलगायतका फलफूलका बिरुवासमेत खरिद गरेर कार्यालयले उपलब्ध गराइरहेको छ । वन कार्यालयले यस वर्ष सबैभन्दा बढी ४५ हजार मसलाजन्य टिमुरको वृक्षरोपण गर्ने लक्ष्य राखेको छ । यसका लागि सिलबन्दी दरभाउ खरिद आह्वान पनि गरिसकेको छ । सप्लायर्सले उपलब्ध गराएको टिमुरको बिरुवा वितरणको तयारी भइरहेको छ ।

        बिरुवा रोपणका लागि खाडल खन्न तीन किसिमको औजार पनि डिभिजन र सबडिभिजनमार्फत उपभोक्तालाई प्रक्रियागत उपलब्ध गराइनेछ । बिरुवा माग फारम भरेका इच्छुक प्रतिव्यक्तिलाई ५० वटा बिरुवा उपलब्ध गराइनेछ । यस्तै, सामुदायिक उपभोक्ता वन समिति, कार्यालय, सङ्घ÷संस्थाको आवश्यक प्रमाण कागजातका आधारमा वितरण गरिने बताइएको छ । बिरुवा र फलफूल वितरण प्रक्रियामा आवश्यक परे स्थलगत अध्ययन निरीक्षणसमेत गरी बिरुवा वितरण प्रक्रिया अगाडि बढाउने डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख प्रेमप्रसाद सापकोटाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।