+
Search

ताजा अपडेट +

पपुलर +

यशोदादेवी-भगवानसिंह केसी मेमोरियल ट्रस्टबाट त्रिशूली अस्पताललाई आइसियू बेड प्रदान

त्रिशूली प्रवाह
४ साल अगाडी

कोलनी: जिल्लाको सरकारी अस्पताल भएर पनि देशभरिका सरकारी अस्पतालमध्येमा उत्कृष्ट अस्पताल बन्न सफल त्रिशूली अस्पताललाई थप आइसियू सेवा विस्तार गर्न यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले दुई थान आइसियू बेड र स्वास्थ्य सामग्री सोमबार उपलब्ध गराएको छ ।

Utsuk Books & Stationery

       कोरोना सङ्क्रमणको तेस्रो लहरको सुरुवात भएसँगै स्वास्थ्य उपकरणको जोहो गर्नुपर्ने भन्दै ट्रस्टमार्फत त्रिशूली अस्पताललाई आइसियू बेड उपलब्ध गराएको ट्रस्टका संरक्षक एवम् नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले बताए । काङ्ग्रेस केन्द्रीय सदस्य मात्र नभएर प्रभावशाली नेता केसीले विपत् र महामारीजस्तो समयमा पार्टी र आफूनजिकका भन्दा पनि सम्पुर्ण नागरिकको जीवनरक्षाका लागि सबै पक्षको पहल हुन जरुरी रहेको सो अवसरमा उल्लेख गरे । नुवाकोटको शिक्षा, स्वास्थ्य क्षेत्रमा आफ्नो राजनीतिक जीवन लगानी गरेका नेता केसीको पहलमा अघिल्लो वर्षको कोरोना महामारीको समयमा पनि त्रिशूली अस्पतालसहित जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य सङ्घ÷संस्थालगायत स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेका थिए । ट्रस्टले यसअघि नै घोषणा गरेअनुसार स्वास्थ्य उपकरण र सामग्री त्रिशूली अस्पताललाई उपलब्ध गराएको हो । ट्रस्टमार्फत नुवाकोटको १२ वटै स्थानीय तहलाई तीन–तीनवटा अक्सिजन कन्सन्ट्रेटर, मास्कलगायत पिपिई, अक्सिमिटरलगायत आवश्यक स्वास्थ्य सामग्री यसभन्दा अगाडि नै उपलब्ध गराइसकेको छ ।

       नुवाकोटमा कोरोना सङ्क्रमणको तेस्रो भेरियन्ट पुष्टि भइसकेकाले आवश्यक सुरक्षा सावधानीका साथै उपचारका लागि अस्पताल तयारी अवस्थामा रहनसमेत पूर्वस्वास्थ्यमन्त्री रहेका केसीले निर्देशन दिए । पूर्वशिक्षा तथा सहरी विकासमन्त्रीसमेत रहेका केसीले केन्द्रीय राजधानीबाट नजिक रहेको नुवाकोटमा काठमाडौंको अस्पतालको विकल्पको रूपमा समेत सोच्न थालिएकाले सबै सेवा तयारी हालतमा राख्न आग्रह गरे । ट्रस्टका अध्यक्ष तथा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले जिल्लामा ४६ थान अक्सिजन कन्सन्ट्रेटर विभिन्न दाताबाट सहयोग जुटाएर जिल्लामा वितरण गरिएको जानकारी दिए । उनले अस्पताललाई आवश्यक उपकरण र स्वास्थ्य सामग्री जुटाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाए । अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेको सभापतित्वमा भएको सहयोग हस्तान्तरण एवम् अन्तक्र्रिया कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले अस्पतालको बिरामी उपचारको विवरणसहित अस्पतालको क्षमता, उपकरण, जनशक्ति, पूर्वाधार र थप सेवा सञ्चालनबारे विस्तृत जानकारी गराएका थिए ।

        ट्रस्टका महासचिव एवम् नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनगरसिंह केसीले सङ्कटको बेलामा मल्हम लगाउने प्रयास गरिरहेको बताए । ट्रस्टबाट विगतको भूकम्पको महाविपत्ति, अहिलेको कोरोनाको महामारीमा जिल्लालाई आवश्यक सहयोग देश–विदेशमा रहेका दाताहरूबाट मागेरै भए पनि ल्याएर बाँडेको बताए । त्रिशूली अस्पताल देशभरीको जिल्ला अस्पतालमध्येमा उत्कृष्ट भएकोमा उनले अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई बधाईसमेत दिए । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, नेपाली काङ्ग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारीले अस्पतालमा विभिन्न दाताबाट प्राप्त सहयोग सामग्रीबाट नुवाकोटवासीको स्वास्थ्य उपचारमा बढीभन्दा बढी प्रयोग गरी सदुपयोग गर्न सुझाब दिएका थिए । ट्रस्टले ०७२ को भूकम्पमा समेत सहयोग जुटाएर जिल्लामा ८-१० करोडभन्दा बढीको राहत र सहयोग गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह