स्वयम्सेवक शिक्षक नियुक्त गर्ने तयारी

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०७:५७

बेलकोटगढी: नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले शिक्षक दरबन्दी कम भएका विद्यालयका लागि स्वयम्सेवक शिक्षक नियुक्त गर्ने तयारी गरिरहेको छ । दरबन्दीका शिक्षक तत्काल शिक्षा सेवा आयोगबाट उपलब्ध हुन नसक्ने भएपछि नगरपालिकाले वैकल्पिक व्यवस्था गरेको हो ।

      नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को बजेट विनियोजनको क्रममा शिक्षक दरबन्दी कम भएका, तर विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्वयम्सेवक शिक्षक राख्नका लागि बजेट तर्जुमा गरेको छ । नगरपालिकाले नीतिगत रूपमै व्यवस्था गरेर स्वयम्सेवक शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार चालू आ.व.का लागि कम्तीमा ३० स्वयम्सेवक शिक्षक नियुक्त गर्न बजेट सुनिश्चित भइसकेको छ ।

      चालू आर्थिक वर्षमा नै नगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भएको, तर शिक्षक दरबन्दी कम भएका विद्यालयलाई स्वयम्सेवक शिक्षकको व्यवस्था मिलाउन ६२ लाख बजेट छुट्याएको थियो । उक्त बजेटमार्फत कम्तीमा ३० शिक्षक नियुक्त गर्न आवश्यक कानुनी कार्यविधिलगायतका तयारी सम्पन्न भइसकेकाको शाखा प्रमुख शर्माले जानकारी दिए । नियुक्त गर्न लागिएका शिक्षकका लागि प्राविलाई १५ हजार, निमाविलाई २० हजार र मावि तहका लागि २५ हजार तलब दिइनेछ । नियुक्ति पाएकाले एक वर्ष अध्यापन गराए पनि चाडपर्व भत्ताबापत थप एक महिनाको तलबसमेत उपलब्ध गराइने भएकाले १३ महिनाको सुविधा पाउनेछन् । अहिले नियुक्त भएका शिक्षकका लागि यो आ.व. मा बजेट सुनिश्चित भइसकेको छ भने नियमित रूपमा नगरपालिकाले स्वयम्सेवक शिक्षक राख्न थप बजेट व्यवस्था गर्ने नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए ।

       नगरपालिकामा हाल १९ माविसहित प्रावि र निमावि (आधारभूत विद्यालय) ३४ गरेर कुल ५३ सामुदायिक विद्यालय रहेका छन् । भूकम्पको समयमा प्रभावित भएका सामुदायिक विद्यालयको अध्ययन सुधारका लागि अधिकांश विद्यालयमा पुनर्निर्माणअन्तर्गत सुविधासम्पन्न नयाँ भवनको निर्माण गरिएको छ भने बाल विकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, अङ्ग्रेजी माध्यमबाट अध्यापन, भर्चुअल कक्षा, विद्यालयमा नर्समार्फत विद्यार्थीलाई स्वास्थ्य शिक्षा र हेरचाह, विद्यालयका लागि यातायातको सुविधालगायतको व्यवस्था नगरपालिकाले मिलाई कोरोनाले प्रभावित भएको शैक्षिक गतिविधिलाई पुरानै लयमा फर्काउने प्रयास गरिरहेको छ ।