नीलकण्ठ माविले नमुना विद्यालय बनाउन चार रोपनी जग्गा खरिद

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०८:२३

धुन्चे: रसुवा जिल्लाको पहिलो विद्यालय नीलकण्ठ माविले नमुना विद्यालय बनाउन छनोट भएसँगै थप भवन बनाउनका लागि चार रोपनी जग्गा सोमबार खरिद गरेको छ ।

      करिब ७६ लाख ८० हजार रुपैयाँमा स्थानीय वसन्तकुमार आचार्यसँग चार रोपनी जग्गा सोमबार मालपोत कार्यालय रसुवाबाट विद्यालयको नाममा पास भएको छ । जग्गा खरिद गर्न दाताबाट सङ्कलन भएको रकम विद्यालयले यसअघि नै १० लाख अग्रिम भुक्तानी दिइसकेको र बाँकी रकमको सोमबार नै चेक उपलब्ध गराई विद्यालयको नाममा जग्गाको स्वामित्व ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले बताए । प्रचार–प्रसार विभागका संयोजक शशि डङ्गोलका अनुसार गत वैशाखदेखि चन्दा सङ्कलन अभियान सुरु गरिएको थियो । नीलकण्ठ माध्यमिक विद्यालयको नयाँ भवन बनाउन आवश्यक पर्ने जग्गा खरिद गर्न विद्यालयका पूर्वविद्यार्थीको पहलमा अभियान सुरु भइरहेको छ । अहिलेसम्म झन्डै ७२ लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।

       २००७ सालमा स्थापना भएको नीलकण्ठ माध्यमिक विद्यालय भवन र आवासीय संरचना बनाउन नेपाल सरकारबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढी रकम बजेट सुनिश्चित भएसँगै अत्यावश्यक रहेको जग्गा सोमबार विद्यालयको नाममा खरिद गरेको छ । जिल्लाकै पहिलो नीलकण्ठ माध्यमिक विद्यालय ०३८ देखि एसएलसी बोर्डमा विद्यार्थी सामेल हुन सुरु गरेसँगै अहिलेसम्म दुई हजार आठ सय ६८ जनाले परीक्षामा सहभागिता जनाई उत्तीर्ण भएका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्दै देश, विदेश र नेपालमै पनि उच्च ओहोदामा पुगेका छन् । अहिलेसम्म करिब पाँच सय दाताबाट ७१ लाख रुपैयाँ सङ्कलन भएको र अझै अभियानमार्फत रकम जम्मा गर्ने कार्य निरन्तर चल्ने विद्यालयका शिक्षक एवम् प्रचारप्रसार समितिका सदस्य शिक्षक गणेश श्रेष्ठले जानकारी दिए ।