श्रीमान्हरूको बहस !

  • हरिप्रसाद रिमाल

श्रीमान् ‘क’

बुझ्नु भो श्रीमान्हरू तपाईंहरू जेसुकै भन्नुहोस् यस दुनियाँमा अन्नजस्तो ठूलो केही पनि छैन । हाम्रो यो शरीर जुन छ त्यो अन्नबिना बन्नै सक्तैन, बाँच्न पनि सक्तैन । यो छाला, यो मासु, यो रगत र हाड, यी सबै अन्नबाट नै बनेका हुन् । शुक्र र रजको मिलन हुनासाथ हाम्रो शरीर बन्ने क्रम आरम्भ हुन्छ । त्यसपछि त आमाले खाएका कुरा पाएर नै हाम्रो शरीर बन्न र हुर्कन सुरु हुन्छ । गर्भावस्थामा मात्र हो र यस धरामा पाइलो टेक्नासाथ हाम्रो काम आमाको स्तनपानबाट सुरु हुन्छ । त्यसपछि त खाएको छ–छ । जन्मेदेखि यस धरणीबाट बिदा नहोउन्जेल हाम्रो पहिलो प्राथमिकताको काम खाने नै हुन्छ । हरिकङ्गालदेखि बडेबडे धनाढ्यसम्म सबैलाई खानै परेको हुन्छ । अझ कतिपय त खाँदा–खाँदा उपरतली फर्कुन्जेल खान्छन् र आफूपछिका सात पुस्तालाई अन्न किन्ने र मोजमस्ती गर्ने जोहो गरिदिएर संसारबाट बिदा हुन्छन् । हेर्नुहोस् श्रीमान् कस्तो रहेछ अन्न भन्ने वस्तु त्यसैले त यो शरीरलाई हाम्रा पुर्खाले ‘अन्नमय’ भनेका छन् ।

श्रीमान् ‘ख’
‘स्वल्पज्ञान भयङ्करम’ श्रीमान् माफ गर्नुहोस् हजुरको ज्ञान अत्यन्तै अल्प रहेछ ! । अन्न ठूलो भए ‘निर्जीव’ अर्थात् मृतकका अगाडि अन्नको थुप्रो लगेर राखिदिनुहोस् त के त्यो बाँच्न सक्छ ? कुनै पनि हालतमा बाँच्दैन । सबैभन्दा ठूलो त प्राण पो हो । हाम्रो शरीरमा पाँच प्रकारका प्राण रहेका हुन्छन् । ती पाँचमध्ये पनि मुख्य ‘प्राण’ हाम्रो हृदयमा बस्छ, गुदा क्षेत्रमा ‘अपान’, नाभीतिर ‘समान’, घाँटीतिर ‘उदान’ र शरीरभरि ‘व्यान’ बसेको हुन्छ । यसरी यी प्राण कर्मेन्द्रियका सहयोगले हाम्रो जीवन बचाउँछन् । त्यसैले हाम्रो शरीर ‘प्राणमय’ हो, सबैभन्दा ठूलो त प्राण पो हो ।

श्रीमान् ‘ग’
माफ गर्नुहोस् श्रीमान् ‘क’ र ‘ख’ ! तपाईंका कुराभन्दा गाँठी कुरा त म पो ल्याउँदै छु । सुन्नुहोस् ! सबैभन्दा ठूलो त मन हो मन ! मन नभईकन जिन्दगी एकछिन टिक्न सक्छ ! मन नभएको जीव त मुढो पो हुन्छ हल न चल केही पनि गर्न नसक्ने मुढो ! जीवनलाई चलायमान तुल्याउने त मन हो । ज्ञानेन्द्रियका सहयोगले मनले आदेश दिएपछि मुढोजस्तै लडिरहेको जीव जुरुक्क उठ्छ र कर्मक्षेत्रमा चलायमान हुन थाल्छ । बिनामनको कुन जीव हुन्छ र ? मनै नभएको प्राणीलाई कसले गन्छ र ? त्यसैले सबैभन्दा ठूलो हो मन । त्यसैले त यो शरीरलाई हाम्रा पूर्वज आर्यले ‘मनोमय’ भने ।

श्रीमान् ‘घ’
माथि श्रीमान्हरूले पेस गरेका तर्क सुनेर त मलाई खित्का छोडेर हाँस्न मन लाग्यो । सबैका कुरा आलाकाँचा ! गाँठी कुरा सुन्नुहोस् मेरा ! सबैभन्दा ठूलो कुरा विज्ञान हो । (यहाँ ‘विज्ञान’ शब्द भौतिक विज्ञानका अर्थमा नभएर ‘विशेष प्रकारको ज्ञान’को रूपमा लिइएको छ ।) अन्न खाएर मात्रै, शरीरमा प्राणपखेरू चलेर मात्रै र अल्लारे भँडुवा मनले ‘यता जा र उता जा’ भनेको मानेर मात्रै जीवन चल्ने भए त धेरै सजिलो हुन्थ्यो ! यस धरामा साँचो अर्थमा मानव भएर बाँच्न कति धेरै र गहिरो ज्ञानको आवश्यकता पर्छ भन्ने कुरा कति विचारणीय छ ! सतहमा हिँडेर हल्का–फुल्का कुरा गरेर कहाँ हुन्छ ? । बुद्धि र ज्ञानेन्द्रियका साथ विज्ञानले नै जीवलाई सही, यथार्थ र पक्रन पर्ने बाटो समात्ने बुद्धि दिन्छ । बरालिएको प्रमादी मनलाई सही बाटोमा हिँडाउन विज्ञान नै पहिलो दर्जाको अति महत्वपूर्ण तत्व हो । विज्ञानले नै मानवलाई अनादि कालको जीव र संसारको सारा ज्ञान गराउँछ । जीव कसरी कहिले माथिल्लो श्रेणीको योनिमा जन्मन पुग्छ र कसरी कहिले अत्यन्तै कहालीलाग्दो र अति कष्टमय योनिमा जन्मलिन बाध्य हुन्छ भन्नेदेखि धर्म–कर्म, पाप–पुण्य, परमार्थ प्राप्ति र मोक्षको बाटो हामीलाई विज्ञानले नै देखाउँछ । आत्मा–परमात्मासँग निकटताको कारण यो अत्यन्तै प्रकाशमय हुन्छ । त्यसैले सबैभन्दा महिमामय त विज्ञान नै हो । त्यसै भएर त ‘विज्ञानमय कोश’ बढी महिमामय छ ।

श्रीमान् ‘ङ’
श्रीमान्हरूको भनाइमा आंशिक सत्यता त होला ! तर, मूल कुरा कसैले पनि उप्काउनुभएन । श्रीमान्हरू हो ! सम्पूर्ण जीवले र विशेषगरी मानवले खोज्ने कुरा हो आनन्द र त्यो वर्णन गर्न नसकिने हुन्छ, त्यसलाई प्राप्त गरेपछि पाउनुपर्ने कुरा केही पनि बाँकी नभएको अनुभूति हुन्छ । सबै प्रकारका सुखभन्दा पनि परको, त्रिगुणात्मक संयोग (सत्व, रज र तमोगुणको मेल)बाट र कहिले पुण्य–कर्मको परिपाकबाट पनि त्यस आनन्दको अनुभूति हुन्छ । त्यसैलाई ‘आनन्दमय कोश’ भनिन्छ ।

यी त भए आध्यात्मिक जगत्का पञ्चकोशका कुरा । यस्ता कुरा त फेरि पनि व्यक्त हुँदै जालान् । यता सर्वोच्च अदातलको संवैधानिक इजलासमा भने प्रतिनिधिसभाको पुनस्र्थापना हुन्छ वा हुन्न भन्नेबारेको पक्ष–विपक्षका वकिलको बहस सकिएर अहिले श्रीमान्हरू विचार–विमर्शमा हुनुहोला । निसु यही २८ गते भनेकाले सबैको ध्यान त्यतैतिर तानिएको छ । यतिखेर दुवैथरी नेताहरूको मुटुको ढुकढुकी कति बढिरहेको होला ? थाहा छैन । यति बेला सवैधानिक व्यवस्था, राष्ट्र, जनताको वर्तमान परिस्थिति र परिवेश, राजनीतिक दल र नेतृवर्गको प्रवृत्ति आदिको चिन्तन–मनन भएर उचित निर्णय आउँला भन्ने सकारात्मक सोच राख्नुसिवाय अरू के गर्न सकिन्छ र ?

(नुवाकोट पुख्र्याैली घर भएका लेखक पूर्वप्रशासक, साहित्यकार तथा आध्यात्मिक चिन्तक हुनुहुन्छ ।)