नौकुण्ड गाउँपालिका आफ्नै भवनमा

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०९:१९
  • हेमनाथ खतिवडा

कालिकास्थान, रसुवा जिल्लाका पाँचवटा स्थानीय तहमध्ये नौकुण्ड गाउँपालिका भवन निर्माण गर्ने पहिलो गाउँपालिका बनेको छ । नवनिर्मित भवनबाट गाउँपालिकाले प्रशासनिक कार्य सञ्चालन गरिरहेको छ ।

      निर्वाचनपछि सबै स्थानीय तहले भवन निर्माण गर्न प्रयास गरे पनि तीनवटा गाउँपालिकाले भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न सकेका छैन भने कालिका गाउँपालिकाको भवन निर्माणाधीन अवस्थामा पुगेको छ । यसअघि पारच्याङ गाउँमा रहेको कार्यालय गाउँभन्दा माथि सारेर गत वर्ष आठ रोपनी जग्गा निःशुल्क व्यवस्थापन गरी भवन निर्माण थालनी गरेको थियो । नौकुण्ठ गाउँपालिकाले १४ कोठे भवन निर्माण सम्पन्न गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीका अनुसार अघिल्लो वर्ष उपभोक्ता समितिमार्फत ४० लाख रुपैयाँ र टेन्डरमार्फत ३० लाख गरी कुल ७० लाख रुपैयाँबाट गाउँपालिकाले आफ्नै लगानीमा भवन निर्माण गरिएको हो । भवन निर्माण गरेपछि दैनिक कार्य सञ्चालनमा सहज भएको गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताइन् ।

      स्थानीय नौकुण्ड गाउँपालिका– ३, पारच्याङका दमैसार्की घले र उनका दाजुभाइले गाउँपालिका, प्रहरी कार्यालयको भवन निर्माणका लागि आठ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । भवन बनेपछि एउटै छानामुनि गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, शिक्षा, युवा तथा स्वरोजगार, न्यायिक समिति, महिला बालबालिका, शाखा, लेखा, उद्योगलगायतका शाखा अटेका छन् । भवनमा सबै शाखाका लागि छुट्टाछुट्टै कोठा पर्याप्त नहुने भएपछि केही शाखा बाहिर भाडाको घर लिएर राखिएको छ । कृषि, पशु, आयुर्वेद र स्टोर शाखा भने अझै बाहिर छन् । तालिम हल र क्यान्टिन भने छुट्टै निर्माण भएको छ ।

      जनप्रतिनिधि निर्वाचित भएपछि हालसम्म एक सय किलोमिटरभन्दा बढी ग्रामीण सडक निर्माण र नियमित स्तरोन्नतिको काम भएको छ भने ६ वडा रहेको गाउँपालिकामा तीनवटा वडा कार्यालय भवनको समेत निर्माण सकिएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्बो घलेले बताए । नौकुण्ड गाउँपालिकाले आफ्नो कार्यकालमा भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । प्रहरीचौकी, विद्यालय भवनहरू पनि निर्माण भएका छन् भने गाउँगाउँमा जोडिएका ग्रामीण सडकहरूमध्ये स्याउबारी–लोकिल–लाङ्बु सडकबाहेकका अन्य सडक वर्षात्का कारण अवरुद्ध भएका छन् ।