नौकुण्ड गाउँपालिका र ग्लोबल आइएमई बैंकबीच सहुलियत कर्जा सम्झौता

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०९:२५

कालिकास्थान, रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका र ग्लोबल आइएमई बैंकबीच सहुलियत तथा व्यावसायिक कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

         गाउँपालिकाको तर्फबाट अध्यक्ष नुर्पुस्याङ्बो घले र ग्लोबल आइएमई बैंकका तर्फबाट रमेश पनेरूले गत हप्ता हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंकले स्थानीय तहसँग समन्वय गरेर सहुलियत कर्जाका लागि ब्याज अनुदान सहायता कार्यविधि ०७५ को संशोधनसहित उद्यमी, व्यवसायीलाई व्यवसाय सुरुवात तथा विस्तार गर्न ऋण प्रदान गर्न कार्यविधि बनाएर सहुलियत कर्जा प्रवाह गर्न सम्झौता भएको गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताइन् । लगानी अभावले पछि परेका स्थानीय तहका उद्यमीलाई सम्झौताले सहज हुने विश्वास गरिएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँमा बाख्रापालन, डेरी उद्योग, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न तरकारी तथा फलफूलको उत्पादन गर्ने कृषकलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा दुई सय ७३ शाखा, दुई सय ४२ एटिएम, दुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।