कालिकाको भवन निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई पेनाल्टी

  • त्रिशूली प्रवाह
  • ७ श्रावण २०७८, बिहीबार ११:४८

कालिकास्थान, रसुवा जिल्लाको कालिका गाउँपालिकाको प्रशासकीय भवन र बहुउद्देश्यीय एकीकृत सभाहल निर्माण कार्य निर्धारित समयमा सम्पन्न नगर्ने ठेकेदार कम्पनी दैनिक पेनाल्टी तिर्दै छ । भवन निर्माण नहुँदा गाउँपालिकालाई दैनिक प्रशासनिक कार्य गर्न समस्या भइरहेको छ । निर्माण कम्पनीले थपिएको पहिलो म्याद ०७७ चैत ९ गतेसम्म भवन निर्माण नसकेपछि नियमित पेनाल्टी तिरिरहेको छ । समयमा कार्य सम्पन्न नगरे कालोसूचीमा राख्ने तयारी गाउँपालिका तथा सघन सहरी तथा भवन निर्माण आयोजनाले गरिरहेको छ ।

      गाउँपालिकाको वडा नं.-२ मा रहेको पुरानो गाविस रहेको स्थानमा निर्माण व्यवसायीले दुई वर्षको समय राखेर ठेक्का सम्झौता गरी निर्माण सुरु भएको थियो । । ०७६ साल माघमा भवन निर्माण सक्ने गरी कम्पनीले जिम्मा लिएको थियो । कालिका गाउँपालिकाका कार्यालय रहने त्यस भवन निर्माणमा ढिलाइ भएको विषयमा पत्राचार तथा एलआइके कन्स्ट्रक्सन रसुवाका (प्रेम तामाङ, बागमती प्रदेश सभा सदस्य)लाई भेटेर पनि छलफलसमेत गरेको कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी अधिकारीले बताइन् । उनले भनिन्, ‘ढिला नगरी कार्य सम्पन्न गर्नका लागि हामीले धेरैपटक अनुरोध गरेका छौँ ।’ ०७४ पुस २७ गते किरातेश्वर र एलआइके जेभीले ठेक्का सम्झौता गरेको उक्त भवन निर्माण समयमा सम्पन्न नहुँदा गाउँपालिकालाई प्रशासनिक कार्य गर्न समस्या भइरहेको छ । थपेको म्यादमा काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनीलाई पेनाल्टी तिराइएको सघन सहरी तथा भवन निर्माण आयोजना आयोजना प्रमुख कृष्णकुमार महर्जनले बताए । उनले बताएअनुसार कुल कामको २५ प्रतिशत काम बाँकी रहेको छ । ०७७ चैत ९ गतेसम्म म्याद थप भएको थियो । अब म्याद थप गर्न मिल्दैन, अहिले कम्पनीले २०७८ वैशाखदेखि सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुरूप जरिवाना तिरिरहेको छ ।

      समयमा कार्य सम्पन्न नगरेपछि ठेकेदार कम्पनीको बैंक जमानत जफत प्रक्रियासमेत अघि आयोजनाले बढाएको छ । कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय धादिङमा रहेको छ र कार्यालयले धादिङ, रसुवा र नुवाकोट तीन जिल्लाको अनुगमन गर्नुपर्दछ । समयसमयमा आफू र अन्य प्राविधिकले अनुगमन गर्दा सुस्त गतिमा काम भएको कारण न्यून प्रगति भएको प्रमुख महर्जनले बताए । किरातेश्वर कन्स्ट्रक्सन सनकसिं राईको हो भने र एलआइके कन्स्ट्रक्सन रसुवाका बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर तामाङ र स्थानीय व्यवसायी इन्द्र सापकोटाको हो । नेपाल सरकारको ६ करोड २६ रुपैयाँ लागतमा भवन निर्माण थालनी भएको हो । भवन निर्माणमा ढिलाइ भएको विषयमा आयोजना, गाउँपालिका प्रमुख प्रशासकीय प्रमुख यादवप्रसाद सापकोटा र गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले पटक-पटक पत्राचार गरेका छन् । तैपनि भवन निर्माणले गति नपाएको गुनासो उनीहरूको छ ।