कृषि तथा पशुपन्छी बिमा प्रभावकारी

  • त्रिशूली प्रवाह
  • ७ श्रावण २०७८, बिहीबार १२:०४

विदुर, नुवाकोट र रसुवामा कृषि तथा पशुपन्छीको बिमा स्थानीय निकायको सहयोगमा प्रभावकारी बन्दै गइरहेको छ ।

      स्थानीय निकायले कृषि तथा पशुपन्छीको बिमाका लागि अनुदान दिएपछि बिमाप्रति कृषकले चासो राख्ने गरेका छन् । नुवाकोट र रसुवामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नुवाकोट शाखाले अहिलेसम्म ५३ करोड ७८ लाख ५४ हजार रुपैयाँको कृषि तथा पशुपन्छीको बिमा गरिसकेको छ । जिल्लामा पछिल्ला वर्षमा पशु बिमा कार्यक्रम बढ्दै जानुमा कृषक/फार्म व्यवसायीमा चेतनाको विकास, विगतका दिनमा बिमा कम्पनीले जिल्लामा पु¥याएको सेवा-सुविधा साथै स्थानीयस्तरमा सञ्चालनमा रहेका दुग्ध डेरी, सहकारी, सञ्चारमाध्यम, सङ्घ-संस्था, गाउँपालिका, नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रको महत्वपूर्ण भूमिका रहेको छ । यस चालू आवमा पनि नुवाकोट र रसुवामा रहेका स्थानीय पालिका र अन्य सरोकारवाला संस्थाको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छीको बिमा बढ्ने अपेक्षा शिखर इन्स्योरेन्स नुवाकोट र रसुवा शाखाका प्रमुख सुरेन्द्र राईले गरेका छन् ।

         विगत आठ वर्षदेखि दुईजना पशु प्राविधिकसहित आठजना कर्मचारीमार्फत जिल्लाको सुगमदेखि दूरदराजसम्म सेवा पु¥याउँदै आएको शिखरले जिल्लामा आफूलाई राम्रो बिमा कम्पनीको रूपमा पहिचान बनाइरहेको छ । शिखर इन्स्योरेन्स कम्पनीले नुवाकोट र रसुवामा पशुधन बिमाअन्तर्गत चार हजार दुई सय ६८ कृषक/फर्मको तीन हजार नौ सय आठ भैँसी/राँगा/पाडापाडी, आठ सय ८३ गाई/चौँरी, तीन हजार दुई सय ६७ बाख्रा, एक सय ७७ बंगुर, पन्छीतर्फ ७९ हजार नौ सय ८७ ब्रोइलर/लेयर्स/प्यारेन्ट/कुखुरा, चार कृषक/फर्मको ३२ वटा पोखरीमा रहेका ३० हजार सात सय माछा र १३ कृषक/फर्मका दुई सय सात रोपनीमा रहेका तरकारी तथा फलफूलको बिमा गरी चार हजार दुई सय ८५ जना कृषक/फर्मको कुल दुई करोड ७९ लाख ५१ हजार सात सय ८७ रुपैयाँबराबरको कारोबार गर्न सफल भएको छ ।

      इन्स्योरेन्स कम्पनीले दुई जिल्लामा पशुधन बिमाअन्तर्गत ८३ भैँसी/राँगा/पाडापाडीको मृत्यु क्षतिपूर्ति रकम ६८ लाख पाँच हजार आठ सय रुपैयाँ बिमितलाई गत आवमा वितरण गरेको थियो । त्यसैगरी, गत आवमा ३५ गाईको मृत्यु क्षतिपूर्तिबापत १८ लाख ४५ हजार रुपैयाँ, सात चौरीको मृत्यु क्षतिपूर्तिको तीन लाख ४२ हजार रुपैयाँ, एक सय २९ बाख्राको मृत्यु क्षतिपूर्तिको १९ लाख ७१ हजार चार सय १० रुपैयाँ, तीन बंगुरको ५८ हजार पाँच सय बिमितलाई हस्तान्तरण गरेको थियो । इन्स्योरेन्स कम्पनीले पन्छीतर्फ ६० हजार क्षति रकम गरी कुल एक करोड १० लाख २२ हजार सात सय १० रुपैयाँबराबरको पशुपन्छीको क्षतिपूर्ति गत आवमा बिमितलाई प्रदान गरेको थियो । नुवाकोटमा आ.व.०७६/७७ भन्दा आ.व. ०७७/७८ मा कृषि बिमामा ९४ लाख ९४ हजार एक सय ४५ रुपैयाँले बिमा रकम कम्पनीले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छीको र उत्पादन र लागतमा बिमा गर्न सकिने बिमा गराउँदा बिउ नै रोपेको हो भने १० दिनभित्र र बेर्ना रोपेको हो १५ दिनभित्र बिमा गर्नुपर्ने बिमा गर्न कृषि प्राविधिकले तयार पारेको उत्पादन वा लागतमा आधारित भएर गर्न सकिनेछ । त्यसैगरी, पशुधन बिमा गर्न पशु प्राविधिक कृषको गोठ/फर्ममा गई पशुको स्वास्थ्य परीक्षण गरी स्थानीयस्तरमा खरिद-बिक्री गर्दा पाउने रकमलाई आधार मानेर मूल्य निर्धारण गरेर बिमा गर्ने र बिमा गरेको पशुधन १५ दिनभित्रमा दुर्घटनाबाहेक अन्य कारणबाट क्षति भएमा क्षति दाबी नलाग्ने प्रावधान रहेको छ ।

      साथै, बिमा गरेको कृषि बाली क्षति भएमा सात दिनदेखि १५ दिनभित्र कम्पनीमा खबर गर्नुपर्ने र पशुपन्छी बिमाको हकमा तीन दिनभित्र खबर गरी लिखित निवेदन दुई दिनभित्र दाबी निवेदन दर्ता गर्नुपर्नेछ र आवश्यक कागजपत्र १५ दिनभित्र कार्यालयमा आएमा २१ देखि ३५ दिनभित्र क्षति दाबी ९० प्रतिशत भुक्तानी सम्बन्धित कृषक/फर्म दिनुपर्ने प्रावधान रहेको छ । शिखर इन्स्योरेन्सले गत आर्थिक ०७७/७८ मा कुल चार करोड ९५ लाख ३० हजार पाँच सय ५५ रुपैयाँबराबरको कारोबार गरेको थियो । शिखरले कृषि तथा पशुपन्छीको बिमा सवारीसाधन, घर, सम्पत्ति, बाटो, पुल, व्यक्तिगत तथा सामूहिक स्वास्थ्य बिमालगायत २२ प्रकारको बिमा सेवा दिइरहेको छ ।