+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोसी बाढीबाट क्षतिग्रस्त त्रिशूली क्याम्पस पठनपाठनका लागि एनसेलको सहयोग

भोटेकोसी बाढीबाट क्षतिग्रस्त त्रिशूली क्याम्पस पठनपाठनका लागि एनसेलको सहयोग
त्रिशूली प्रवाह
३५ मिनेट अगाडी

विदुर । एनसेल फाउन्डेसनले नुवाकोटको विदुर–१, त्रिशूलीबजारस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनः सञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ । सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका तीन सयभन्दा बढी विद्यार्थी फेरि कक्षामा फर्कन सक्नेछन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

विदुरका नगरप्रमुख राजनलाल श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखालक्ष्मी खड्काले गत हप्ता नगरपालिका कार्यालयमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको जानकारी कलेजका प्रिन्सिपल रिता पछाईले दिनुभयो । बाढीले कलेजको संरचनामा पूर्ण क्षति पु¥याएपछि तीन सयभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ । नगरपालिका र कलेज व्यवस्थापनसँगको सहकार्यमा एनसेलले नियमित कक्षा सञ्चालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नेछ । बाढीपछि कलेज विदुर–९ स्थित नेपाल विद्युत् प्राधिकरणको जग्गामा (विगतमा स्टार बोर्डिङ स्कुल सञ्चालनमा रहेको हाल खाली रहेको भवनमा) रहेको खाली भवनमा कक्षा सञ्चालन सुरु गरेको थियो । कलेज सञ्चालनका लागि आवश्यक कम्प्युटर र फर्निचरलगायत सुविधा पनि उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । कलेज सञ्चालन भएको भवन पुरानो र जीर्ण रहेकाले मर्मत–सम्भार, कम्पाउन्डवाल निर्माण, रङ्गरोगन, विद्युत् वाइरिङ र छानामा फल्ससिलिङ गर्नुपर्ने अवस्था रहेकाले सम्झौताअनुसार निर्माण कार्य भइरहेको कलेज प्रमुख पछाईले बताउनुभयो ।

Suzuki New Bike & Scooter

सम्झौता कार्यान्वयन भएपछि विद्यार्थीलाई सहज अध्ययन वातावरण तयार हुने र विद्यार्थीको शिक्षामा थप अवरोध नआउने अपेक्षा गरिएको छ । ‘हाम्रो क्याम्पसको कक्षा सञ्चालनका लागि अति आवश्यक शैक्षिक पूर्वाधार सहयोग गर्नुभएकोमा हामी एनसेल फाउन्डेसनप्रति धेरै आभारी छौँ । यो सहकार्यलाई उच्च मूल्याङ्कन गर्दै हामी नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सँगै काम गर्न चाहन्छौँ,’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो । शिक्षा क्षेत्र एनसेल फाउन्डेसनको प्राथमिकतामा रहँदै आएको छ र यो पहलले समुदायसँग नजिक रहेर उहाँहरूको आवश्यकताअनुसार काम गर्ने फाउन्डेसनको शैलीलाई पनि झल्काउँछ । ‘हामी बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध छौँ । यस्ता कार्यका लागि प्रतिबद्धता मात्र पर्याप्त हुँदैन । प्रभावित स्थलमै गएर स्थानीय समुदाय र निकायसँग हातेमालो गरेर काम गर्नुपर्छ । विदुरसँगको यो सहकार्य हाम्रो पहलको सुरुवात मात्र हो । हामी स्थानीय साझेदारसँग मिलेर अन्य विद्यालय तथा क्याम्पसको पहिचान गरी सहयोग गर्नेछौँ,’ एनसेल फाउन्डेसनकी निर्देशक खड्काले भन्नुभयो ।

एनसेलले भोटेकोसी बाढीपछि तत्काल प्रभावितको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. एक करोड नगद सहयोग प्रदान गरेको थियो । त्यसपश्चात् अब प्रभावित क्षेत्रमा सहयोगको आवश्यकता भएका विद्यालय तथा विद्यार्थीको सहयोगका लागि स्थानीय पालिकासँगको प्रत्यक्ष सहकार्य तथा समन्वयमा समुदायको तल्लोस्तरसम्म पुगेर काम सुरु भएको छ । यसको कार्यान्वयन हाम्रो साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ । नगरपालिका र स्थानीय समुदायसँग मिलेर एनसेल र कर्मयोगले प्रभावित क्षेत्रमा आवश्यकता मूल्याङ्कन गर्नेछन् । यसबाट पठनपाठन पुनः सुरु गर्न र निरन्तरता दिन सहयोग आवश्यक रहेका अन्य विद्यालय तथा क्याम्पस पहिचान गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह