विदुर । नुवाकोट जिल्लामा विगत दुई वर्षदेखि शनिबार बन्द रहँदै आएको निर्माण सामग्री पसललाई नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घले निरन्तरता दिने निर्णय साधारणसभाबाट गरेको छ । सङ्घको शनिबार सम्पन्न १५औँ वार्षिक साधारणसभाले हार्डवेयर र गोदाम पसल शनिबार बन्द गर्ने विगतको निर्णयलाई निरन्तरता दिने प्रस्ताव पारित गरेको उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


सङ्घको शनिबार विदुरमा भएको सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ताराबहादुर कार्कीले गर्नुभएको थियो । उहाँले व्यवसायीलाई कम्पनीले तोकेको मूल्यमा सामग्री बिक्री गरी सामाजिक उत्तरदायित्व बहन गर्न सुझाव दिनुभयो । सो सभामा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा, निर्माण सामग्री व्यवसायी सञ्जीव थपलियालगायतले हार्डवेयर व्यवसायी एकजुट भएर उपभोक्तालाई सहज रूपमा गुणस्तरका निर्माण सामग्री बिक्री-वितरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । सभामा अध्यक्ष नवीनकृष्ण राजभण्डारीले सङ्घ वर्तमान अवस्था, भावी कार्यक्रम र कोषाध्यक्ष विष्णु प्याकुरेलले आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सो प्रस्ताव छलफलसहित पारित भएको छ । शनिबार जिल्लाभरिका हार्डवेयर पसल तथा गोदाम पूर्ण रूपमा बन्द गर्ने निर्धारित नियम उल्लङ्घन गर्ने व्यवसायीलाई जरिवाना गराइनेसमेत निर्णय भएको छ । गत आवमा सङ्घको निर्णयलाई अपहेलना गर्दै शनिबार पसल तथा गोदाम खोल्ने व्यवसायीलाई रु. आठ हजार जरिवाना गरिएको कोषाध्यक्ष प्याकुरेलले बताउनुभयो । गत भदौ १० गतेको बाढीमा परी न्यु बुद्ध हार्डवेयर विदुर-१०, वेत्रावतीका प्रोपाइटर खिलराज भट्टराई, उत्तरगया हार्डवेयर विदुर-१०, वेत्रावतीका प्रोपाइटर भरत भट्टकी श्रीमती कल्पना भट्ट र त्रिशूली हार्डवेयर पसल विदुर-१, त्रिशूलीका प्रोपाइटर प्रितम शाक्यका बुवा चक्रराज शाक्य बेपत्ता र पसल, गोदाम पूर्ण क्षति भएको जानकारी अध्यक्ष राजभण्डारीले दिनुभयो । बाढीले बागमती तारजाली उद्योग विदुर-१०, भैँसे, इन्द्रायणी ग्याबिन बक्स प्रा.लि. विदुर-१, सिमुटार, अध्यक्ष राजभण्डारीको मनकामना इन्टरप्राइजेज विदुर-१, ढुङ्गे, माता मनकामना सप्लायर्स विदुर-१ ढुङ्गे, राज हार्डवेयर विदुर– १, त्रिशूली, गरिमा प्लास्टिक उद्योग विदुर-६, देवीघाट सिँचाइ, न्यु खतिवडा हार्डवेयर विदुर-५, देवीघाट, घिमिरे हार्डवेयर विदुर-५, देवीघाट पूर्ण क्षति र लामिछाने हार्डवेयर विदुर-१, ढुङ्गे आंशिक क्षति भएको कार्यक्रममा जानकारी गराइएको थियो ।






प्रतिक्रिया