कालिकास्थान । नेपाल एकीकरण अभियानसँग जोडिएको रसुवा जिल्ला, उत्तरगया– ५, माझगाउँस्थित ऐतिहासिक पौवाघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । विसं २०७२ को गोरखा भूकम्पपछि थप जोखिममा परेको यस सम्पदाको समयमै मर्मत तथा सम्भार हुन नसक्दा ऐतिहासिक अस्तित्व नै मेटिने चिन्ता बढेको स्थानीय हेमनाथ खतिवडाले बताउनुभयो ।


गोसाईँकुण्ड तीर्थयात्राको पुरानो पदमार्गमा पर्ने यो पौवाघर लामो समयदेखि बेवारिसेजस्तै बनेको स्थानीयको गुनासो छ । ऐतिहासिक महत्त्व बोकेको संरचना भत्किने अवस्थामा पुग्दा पनि सरोकारवाला निकायको पर्याप्त ध्यान नपुगेको स्थानीय अगुवा बताउँछन् । उत्तरगयाका अध्यक्ष माधव अर्यालले ऐतिहासिक आस्था र पहिचान बोकेको यस धरोहरलाई जीवन्त राख्न पालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । वडा नं ५ का वडाध्यक्ष यमनाथ आचार्यले सीमित स्रोत र साधनबिच सम्पदा संरक्षणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो । ऐतिहासिक दस्ताबेज तथा स्थानीय किंवदन्तीअनुसार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा युद्धमा विजय प्राप्तिको कामनासहित धैबुङमा बस्ने सिद्ध योगी अगस्तिबाट खड्गसिद्धि प्राप्त गरेका थिए । सोही उपलब्धिका लागि कृतज्ञतास्वरूप शाहले अगस्तिलाई वेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीका रूपमा बिर्ता दिएको इतिहास छ । सिद्ध योगी अगस्तिले आफ्नी धर्मचेली गौरादेवीलाई उक्त भूमि कुश बिर्ता प्रदान गर्नुभएको थियो । गौरादेवीले वेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजापाठ गर्ने र वेत्रावतीको माथिल्लो भाग माझगाउँमा पौवाघर बनाई गोसाईँकुण्ड आउजाउ गर्ने तीर्थयात्रीलाई सातु-सामल तथा बासको व्यवस्था मिलाउने सर्तमा उक्त गुठी प्राप्त गरेकी थिइन् ।






प्रतिक्रिया