विदुर । गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीले पूर्णरूपमा क्षति पुगेको नुवाकोटका आठ व्यवसायीलाई नेपाल मदिरा व्यवसायी महासङ्घले शुक्रबार नगद सहयोग प्रदान गरेको छ । नुवाकोट मदिरा व्यवसायी सङ्घले विदुर–४ बट्टारस्थित रानीमौरी ब्याङ्क्वेट एन्ड रिसोर्ट प्रालिमा गरेको कार्यक्रममा महासङ्घबाट प्राप्त रू.१० लाख बाढीपीडित आठ जना व्यवसायीलाई रू.एक लाख २५ हजारका दरले वितरण गरिएको महासचिव पूर्णलाल श्रेष्ठले बताउनुभयो ।




बाढीमा परी सङ्घका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण डङ्गोल र उहाँको श्रीमती विदुर–१०, बेत्रावती बजारमा रहेको पसल घरबाटै बेपत्ता हुनुभएको थियो । बाढीले बेत्रावती बजार पुरै बगेर बगरमा परिणत भएको छ । कार्यक्रममा महासङ्घका अध्यक्ष सोनाम शेर्पा, एस.के. सप्लायर्स बेत्रावतीका क्रष्टल डङ्गोल, मानश्री ट्रेडर्स विदुर–१ त्रिशूलीका जितेन्द्रमान श्रेष्ठ, डिपि सप्लायर्स विदुर–१ ढुङ्गेका प्रकाश प्याकुरेल, नुवाकोट मदिरा हाउस विदुर–१ ढुङ्गेका पूर्णलाल श्रेष्ठ, जालपा सप्लायर्स विदुर–१ ढुङ्गेका अशोक कलवार, जेडी मदिरा स्टोर विदुर–५ देवीघाटका केदार दाहाल, रिजाल मार्केटिङ प्रालि विदुर–१, ढुङ्गेका आयुष रिजाल र मनिष सप्लायर्स विदुर–१ त्रिशूली बसपार्कका निशा नगरकोटीलाई नगद रू.एक लाख २५ हजारका दरले वितरण गर्नुभएको थियो ।

नुवाकोटका अध्यक्ष राजु बोगटीको सभापतित्वमा भएको रकम हस्तान्तरण कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष मदन गौतम, महासचिव गोबिन्दप्रसाद बराल, काठमाडौँका अध्यक्ष रूप तामाङ, ललितपुरका अध्यक्ष हरिहर अधिकारी, चितवनका अध्यक्ष राम बस्नेत, नुवाकोटका निवर्तमान अध्यक्ष कविन्द्रमान प्रधानलगायतको सहभागिता थियो । सो कार्यक्रममा नुवाकोटका अध्यक्ष बोगटीले व्यवसायी हकहित र व्यवसाय सुरक्षाको लागि महासङ्घले जिल्ला सङ्घलाई सहयोग र समन्वय गर्न जोड दिनुभयो ।





प्रतिक्रिया