अस्पताललाई किस्पाङको दश लाख सहयोग

  • त्रिशूली प्रवाह
  • ७ श्रावण २०७८, बिहीबार १४:२३

काहुले, नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाले जिल्लाको एक मात्र सरकारी अस्पताल त्रिशूली अस्पताललाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

      नुवाकोटमा कोरोना सङ्क्रमणको तेस्रो भेरियन्ट पुष्टि भएसँगै बालबालिकाका लागि छुट्टै आइसियू कक्ष स्थापनाका लागि किस्पाङ गाउँपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको हो । यसभन्दा अगाडि नै किस्पाङ गाउँपालिकाले त्रिशूली अस्पतालमा कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । त्यसै प्रतिबद्धताअनुसार गाउँपालिकाले हालै अस्पताल विकास समितिलाई १० लाख रुपैयाँ प्रदान गरेको गाउँपालिकाका अध्यक्ष छत्र लामाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

       त्रिशूली अस्पतालमा अहिले २० कक्षको आइसियू वार्ड रहेको छ । कोरोना सङ्क्रमणको तेस्रो लहर जिल्लामा पुष्टि भएकाले अस्पताललाई थप उपकरण खरिद तथा नयाँ आइसियू कक्ष स्थापनाका लागि रकम अभाव भइरहेको छ । सीमित स्रोत तथा साधन रहेको ५० बेडको त्रिशूली अस्पतालले अहिले ७० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको छ । यसका साथै थप ५० बेडको जनरल वार्डसमेत सञ्चालन गर्दै आएको त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए । कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारका लागि अस्पतालले अत्यन्त राम्रो भूमिका खेलेको हुँदा प्रोत्साहन स्वरूप र कार्य सम्पादनमा सहजताका लागि किस्पाङ गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट सहयोग गरेको गाउँपालिका अध्यक्ष लामाले बताए । प्रमुख लामाको नेतृत्वमा गाउँपालिकामा कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि ४० वटा अक्सिजन सिलिन्डर र १० बेडको आइसोलेसन केन्द्रको व्यवस्थापन गरिएको छ ।