नुवाकोटमा कोरोनाबाट ४० को मृत्यु

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार १०:४८

विदुर, नुवाकोट जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । मंगलबार एकजना कोरोना सङ्क्रमितको त्रिशूली अस्पतालमा मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको हो ।

       पछिल्लो समय दैनिक रूपमा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको त्रिशूली अस्पताल नुवाकोटले जनाएको छ । कोरोना सङ्क्रमणको तेस्रो वेभ पुष्टि भइसकेको नुवाकोटमा यो हप्ता मात्र त्रिशूली अस्पतालमा दुईजना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । नुवाकोटमा कोरोनाको पहिलो वेभमा एकजनाको मृत्यु भएको थियो भने दोस्रो वेभका कारण ३९ जनाको मृत्यु भइसकेको छ । अहिले पनि त्रिशूली अस्पतालमा आइसियू र भेन्टिलेटरमा राखेर कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । त्रिशूली अस्पतालमा २७ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै, स्थानीय तहले निर्माण गरेको संस्थागत आइसोलेसन सेन्टरमा २४ जना र चार सय २५ जना सङ्क्रमित होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

     हिजो बुधबार नुवाकोटमा ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ४७ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्कमा रहेको छ । बुधबार मात्र एक सय ५४ जनाको स्बाब परीक्षण भएको थियो । बुधबार ५५ जनामा सङ्क्रमण पुष्टि भएको त्रिशूली अस्पताल नुवाकोटमा रहेको पिसिआर प्रयोगशालाले जनाएको छ । बुधबार थपिएका ५५ जनामध्ये विदुर नगरपालिकाका १८ जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै विदुर नगरपालिकामा हाल एक सय ६९ जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । हाल नुवाकोटमा चार सय ७६ जना सक्रिय सङ्क्रमित रहेको तथ्याङ्क स्वास्थ्य कार्यालय नुवाकोटले प्रवाह गरेको छ ।