क्युआर कोडसहित खोप प्रमाणीकरण

  • त्रिशूली प्रवाह
  • ५ मंसिर २०७८, आईतवार ११:५९

विदुर, क्युआर कोडसहितको खोप प्रमाणीकरण अब विदुर नगरपालिकाबाटै हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा केन्द्रबाट हुँदा समस्या भएपछि यसको जिम्मेवारी पालिकालाई दिइएको हो । गएको कात्तिक १७ गतेदेखि पालिकाले क्युआर कोडसहितको खोप प्रमाणीकरणको जिम्मेवारी पाए पनि यो सेवा अझै प्रभावकारी हुन सकेको छैन । विदेश जानका लागि खोप प्रमाणीकरण आवश्यक पर्ने, तर आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहुने धेरैको गुनासो छ । तर, सरकारले भने सबै प्रक्रिया पूरा गरेमा चौबीस घन्टाभित्रै खोप प्रमाणीकरण हुने बताएको छ । सबै प्रक्रिया पूरा गरेर अनलाइन आवेदन भर्दा पनि प्रमाणीकरणमा समस्या भयो भने आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाअन्तर्गतको खोप प्रमाणीकरणका फोकल पर्सन तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाका अनुसार हरेक नागरिकले सहज रूपमा खोप प्रमाणीकरणको प्रमाणपत्र पाउन् भनेर पालिकाको स्वास्थ्य शाखालाई जिम्मेवारी दिइएको छ । विदेश जानेलाई क्युआर कोडसहितको खोप प्रमाणपत्र र पिसिआरको रिपोर्ट अनिवार्य गरिएको छ । अनलाइनमा फारम भर्दा पासपोर्टको स्क्यान कपी, पासपोर्ट साइजको फोटो, खोपकार्डको फोटो र कबुलियतनामा अनिवार्य पेस गर्नुपर्छ । फारम भरिसकेपछि २४ घन्टाभित्रमा आवेदन प्रक्रियामा जाने झाले जानकारी दिए । अनलाइनबाटै खोप प्रमाणीकरणको प्रमाणपत्र लिन सकिने र यसका लागि कहीँ जान नपर्ने पनि उनले प्रस्ट पारे ।