मेरो माइक्रो फाइनान्स दशौँ वर्षमा प्रवेश

  • त्रिशूली प्रवाह
  • ५ मंसिर २०७८, आईतवार १२:०६


बट्टार, नुवाकोट जिल्लाको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शुक्रबार एक अनौपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरो माइक्रो फाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्रान्ड बनाएको बताए ।

देशका गणनीय सातवटा वाणिज्य बैंक र एक विकास बैंकबाट संयुक्त रूपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहने गरी ०६९ कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापना भएको संस्थाले ग्राहक सुहाउँदो विभिन्न किसिमका बचत तथा कर्जा सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ बिनाधितो, सामुहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाका साथै बिमा र रेमिट्यान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बंैकिङलगायतका सेवा प्रदान गरिरहेको छ । संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याएको संस्थाले नवौँ वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा एक सय ४९ शाखा सञ्जालमार्फत एक लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याउन सफल रहेको छ । त्यसैगरी, हालसम्म दुई अर्ब ७० करोडबराबर निक्षेप सङ्कलन गरी १५ अर्ब ३० करोडभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।


संस्थाले यसरी आफ्नो कारोबार वृद्धि गर्दै जाँदा पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले साङ्गठनिक संरचना, विभिन्न आठवटा विभाग र १३ वटा अनुगमन स्टेसनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल रहेको जानकार बताउँछन् । संस्थाले अवलम्बन गरेको कार्यशैली एवम् रणनीति, कुशल नेतृत्व, सन्तुष्ट कर्मचारी सङ्गठनले नै संस्थाको छवि कायम राख्न सफल रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।