रसुवागढी जलविद्युत्को उपकरण जडान सुरु

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०८:३९

धुन्चे: रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्र रूपमा भइरहेको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड– १९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरु भएको हो ।

आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान गर्ने जिम्मा पाएको भारतीय कम्पनी भोइथ इन्डियाले धेरै लामो समयपछि दक्ष जनशक्ति उपलब्ध गराएलगत्तै उपकरणको जडान कार्य अगाडि बढेको हो । उपकरण जडान गर्न करिब एक वर्षको समायवधि लाग्ने र सन् २०२२ सम्ममा आयोजनाले विद्युत् उत्पादन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । सन् २०१३ बाट शुभारम्भ भएको सो आयोजनाले विद्युत्गृहमा पानी पठाउने चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरुङ एवम् विद्युत्गृह निर्माणको संरचना निर्माण गरिसकेको छ । विद्युत्गृहमा पानी लान भोटेकोसीको बाँघ बाँध्ने कामसमेत निर्माण सम्पन्न गरी पानी बालुवा थिग्य्राउने भूमिगत डिसेन्डर पोखरी भने निर्माणको अन्तिम चरणमा रहेको छ ।

गत हप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थलगत निरीक्षण एवम् छिटो कार्य सम्पन्न गर्ने निर्देशनपश्चात् उपकरण जडानका लागि भोइथ इन्डियाले दक्ष जनशक्ति उपलब्ध गराएको हो । उपकरण जडानका लागि ४० जनाभन्दा बढी जनशक्तिले दैनिक बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म काम गरिरहेका छन् । आयोजनाको सर्चट्याङ्क भने भित्री भागबाट निर्माण भइरहेको बताइएको छ ।