रसुवामा सोह्र सय मतदाता थपिए

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०८:५५


  • सरस्वती न्यौपाने

धुन्चे: आसन्न स्थानीय निर्वाचनको तयारीका लागि जिल्ला निर्वाचन कार्यालय रसुवाले मतदाता नामावली सङ्कलन अभियान सम्पन्न गरेको छ । एक मात्रै निर्वाचन क्षेत्र भएको हिमाली जिल्ला रसुवामा १६ सय मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार जिल्लाको चारवटा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्दा १६ सय ३९ जना नयाँ मतदाता थपिएका छन् । जसमध्ये आठ सय ६५ जना पुरुष र सात सय ७४ जना महिला रहेका छन् । रसुवामा ०७७ चैत ४ गते प्रकाशित अन्तिम मतदाता नामावलीअनुसार जिल्लामा ३४ हजार आठ सय ५१ जना मतदाता रहेका थिए भने हाल नयाँ नामावली सङ्कलन गर्दा चार सय ९३ जना थपिएका छन् । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाइँकुण्ड गाउँपालिकामा भने मतदाता नामावली सङ्कलन अभियान भएन । गोसाइँकुण्डमा निर्वाचन नहुन्जेल निरन्तर मतदाता नामावली सङ्कलन भइरहने निर्वाचन अधिकारी थापाले जानकारी दिए ।

जिल्लाको चारवटा गाउँपालिकामा दुई चरणमा मतदाता नामावली सङ्कलन गरिएको थियो । पहिलो चरणअन्तर्गत मङ्सिर १७ गतेदेखि २६ गतेसम्म गरिएको मतदाता नामावली सङ्कलनमा आमाछोदिङ्मो गाउँपालिकामा दुई सय ४९ जना र नौकुण्ड गाउँपालिकामा चार सय १५ जना नयाँ मतदाता थपिएका छन् । त्यसैगरी, दोसो चरणअन्तर्गत मङ्सिर २९ देखि पुस ९ गतेसम्म गरिएको मतदाता नामावली सङ्कलनमा चार सय ९३ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनको मिति निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरिसकेको छ । स्थानीय निकायका जनप्रतिनिधिको पदावधि ०७९ वैशाख ३१ गते सकिँदै छ । आयोगले आगामी वैशाख १४ गते एकैचरणमा देशभरका सात सय ५३ वटा पालिकामा निर्वाचन गर्न प्रस्ताव गरेको छ ।