विप्लव बुद्धिजीवी सङ्गठनको विचार गोष्ठी

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०९:०२


विदुर: नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको शुभेच्छुक संस्था राष्ट्रिय बुद्धिजीवी सङ्गठन नुवाकोटले शनिबार विदुरमा आयोजना गरेको ‘संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’ विचार गोष्ठीमा सहभागी भएका वामपन्थी विचारधारामा सहमति जनाउने वक्ताले विकासको गतिमा नेपाल निकै पछि परेको बताएका थिए । उनीहरूले एक मात्र विकल्प वैज्ञानिक समाजवादी नै भएकोमा अडान राखेका छन् ।

सो गोष्ठीमा नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा विरहीले प्रस्तुत गरेको ‘संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’ शीर्षकको कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा एमालेका नेता तथा योजना आयोग बागमती प्रदेशका सदस्य रामशरण प्याकुरेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रसुवाका इन्चार्ज इन्द्र गौतम (जगतजंग), अर्थविद् दीपक शर्मा, प्राध्यापक भरत सिग्देललगायतका वक्ताले संसदीय व्यवस्था अधिकांश देशमा असफल भइसकेको तथा यसको सुधारका संरचना आइसकेकाले अब नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था निर्विकल्प रहेको बताएका थिए । अनिल शर्माले पेस गरेको कार्यपत्रमा वैज्ञानिक समाजवादी व्यवस्था भएका देशमा विकासले निकै धेरै परिवर्तन गरेको तथ्यसहितको पेस गरिएको कार्यपत्रप्रति सहमति जनाउँदै वामपन्थी विचारधाराको रूपमा देखिएका वक्ताले अबको गन्तव्य जनताको प्रत्यक्ष सहभागितामा राजनीतिक परिवर्तनसहितको व्यवस्था परिवर्तनको आवश्यकता रहेको बताएका छन् । यद्यपि, त्यसका लागि भने अहिलेका राजनीतिक दलबाट हुनुपर्नेमा त्यो भने हुन सक्ने अवस्था नभएको भन्दै निराशा व्यक्त गरिएको छ ।

उक्त गोष्ठीमा सहभागी वक्तामध्येका प्रजातान्त्रिक विचारधारका व्यक्तित्व वरिष्ठ चिकित्सक डा. केदारनरसिंह केसीले भने वैज्ञानिक समाजवादको नाममा साम्यवादको स्वरूपको व्यवस्था कल्पना गर्न नसकिने भन्दै काङ्ग्रेसले अँगाल्दै आएको प्रजातान्त्रिक समाजवादी व्यवस्था नै उपयुक्त रहेको जिकिर गरेका थिए । पार्टी सञ्चालन नेतृत्वभन्दा पनि नीतिबाट चल्नुपर्ने भन्दै काङ्ग्रेसले स्थापनाको समयमा अँगालेको समाजवादी व्यवस्था तथा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा अहिले पनि जीवन्त रहेको भन्दै सुधारिएको संसदीय व्यवस्था नेपालको सुहाउँदो हावापानी भएकोमा उनले जोड दिए । नेकपाको केन्द्रीय कार्यक्रमअनुसार जिल्लाबाट बौद्धिक व्यक्तिको सुझाव सङ्कलनको क्रममा नुवाकोटसँग समृद्ध व्यक्तिले राखेको सुझावलाई पार्टीले आगामी रणनीति तथा एजेन्डा बनाएर अघि बढ्ने कार्यपत्रका प्रस्तुतकर्ता एवम् नेकपाका केन्द्रीय सदस्य शर्माले जानकारी दिए । प्रतिबन्धनात्मक अवस्थाबाट खुला राजनीतिमा रहेको नेकपाले अहिले आमसरोकारवाला पक्षसँगको सुझावको आधारमा पार्टीको भावी कार्यदिशा तय गर्ने तथा मुलुकमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आमनागरिक तहसम्म यससम्बन्धीको विचार प्रवाह गर्न अभियानको रूपमा लागिरहेको राष्ट्रिय बुद्धिजीवी सङ्गठन नुवाकोटका अध्यक्ष शुभलाल श्रेष्ठले बताए ।