सञ्चारगृह सम्मानित

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार १६:१५

बट्टार: रूम टु रिड (पढ्नका लागि कोठा) संस्थाले नुवाकोट जिल्लामा क्रियाशील सञ्चारगृहलाई शुक्रबार सम्मान गरेको छ ।

नुवाकोटको शैक्षिक विकासमा काम गर्दै आएको रूम टु रिडले वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारगृह र जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई सम्मान गरेको हो । सम्मानित हुने सञ्चारगृहमा जिल्लामा २२ वर्षदेखि बिहीबार प्रकाशित हुँदै आएको त्रिशूली प्रवाह साप्ताहिकसहित त्रिशूली खबर, नुवाकोट एफएम, रेडियो त्रिशूली, रेडियो लाङटाङ, बागमती प्रेस रहेका छन् । सो कार्यक्रममा नुवाकोट प्रहरी कार्यालयलाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अर्जुनबहादुर श्रेष्ठले रूम टु रिडले जिल्लाको शैक्षिक विकासमा अतुलनीय योगदान दिएको बताए । रूम टु रिडको सहयोगले बालबालिकाको पठन सीप तथा सिकाइमा वृद्धि भएको उनले बताए । रूम टु रिडका सञ्चालक सदस्य अमनलोचन श्रेष्ठले स्थानीय तहसँग साझेदारीमा नयाँ कार्यक्रम सञ्चालन गरिने सो अवसरमा जानकारी दिए । अब ४४ वटा विद्यालयमा कार्यक्रम लैजाने तयारी भइरहेको र नुवाकोटमा रूम टु रिडको कार्यक्रम आगामी सन् २०३१ सम्म रहने बताए । संस्थाले हाल ७८ वटा विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । केही विद्यालयमा संस्थाको कार्यक्रमको तोकिएको अवधि समाप्त भई विद्यालयलाई नै कार्यक्रम हस्तान्तरण गरिसकेको छ । रूम टु रिडको स्थानीय साझेदार संस्था रुडेकका अध्यक्ष मीनकुमार केसी, त्रिशूली खबरका सम्पादक नवदीप श्रेष्ठ, नुवाकोट एफएमका व्यवस्थापक श्रीराम अधिकारी, रेडियो त्रिशूलीका निर्देशक शर्मिला उप्रेतीले जिल्लामा रूम टु रिडको सहयोगले शैक्षिक गुणस्तर अभिवृद्धि भइरहेको बताए ।