गर्भवती जाँच गर्नुस्, अण्डा लानुस् स्वास्थ्यचौकीमा प्रसूति सेवा सुरु

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार १६:१७

आप्रह: नुवाकोटको पञ्चकन्या गाउँपालिकाले नियमित रूपमा गर्भ जाँचलाई प्रोत्साहन गर्न अण्डा दिने कार्यक्रम सञ्चालन गरेको छ । गर्भ रहेको ४, ६, ८ र ९ महिनामा गर्भवतीले गर्भ जाँच गराउनैपर्ने हुन्छ । हरेकपटकको गर्भ जाँचमा एक–एक क्रेट अण्डा गर्भवतीलाई दिने गरिएको स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले बताए ।

पालिकाको वडा नम्बर– २ मा रहेको कविलास स्वास्थ्यचौकीमा प्रसूति सेवा सोमबारबाट सुरु भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले प्रसूति सेवाको शुभारम्भ गर्दै स्वास्थ्य संस्थाको सुधार गर्नलाई पालिका तल्लीन रहेको बताए । पालिकाभित्र चारवटा स्वास्थ्यचौकी र चारवटा सामुदायिक स्वास्थ्य इकाइ रहेकाले त्यहाँबाट प्रवाह हुने सेवा–सुविधा थप गर्दै जाने प्रशासकीय अधिकृत विष्टले बताए । यसअघि गाउँपालिकाभरिमा भद्रुटार स्वास्थ्यचौकीमा मात्रै प्रसूति सेवा उपलब्ध रहेको थियो । ‘एक वडा एक बर्थिङ सेन्टर’ स्थापना गर्ने उद्देश्यअनुसार यसै साताभित्र थप्रेक स्वास्थ्यचौकी, पञ्चकन्या स्वास्थ्यचौकी र बानियाँटार सामुदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर सुचारु गर्ने स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।

गाउँपालिकाभरिमा एउटा मात्रै बर्थिङ सेन्टर हुँदा अपायक पर्ने सेवाग्राही छिमेकी पालिका र जिल्ला अस्पतालसम्म आउनेपर्ने बाध्यतालाई मध्यनजर गर्दै पालिकाले स्थानीय स्वास्थ्य संस्थामा नै गुणस्तरीय प्रसूति सेवा उपलब्ध गराउने नीतिलाई कार्यान्वयन गरिरहेको गाउँपालिका अध्यक्ष रमेश तामाङले बताए । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र नवजात शिशु साथै आमाको स्वास्थ्यमा हुन सक्ने जटिलतालाई कम गराउन स्थानीय स्वास्थ्य संस्थामा स्थापना गरिने बर्थिङ सेन्टरले सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । पाालिकाले बच्चा जन्मिएको दुई वर्षजम्म नियमित रूपमा स्वास्थ्य संस्थामा गई बच्चाको तौल लिनलाई प्रेरित गर्न ‘बच्चा जोख्नुस्, नुन बोक्नुहोस्’ भन्ने कार्यक्रम वर्षदेखि सञ्चालन गरिरहेको छ । बच्चाको तौल लिनलाई स्वास्थ्य संस्था गएको खण्डमा तौलबराबरको आयोडिन नुन दिने कार्यक्रम पालिकामा प्रभावकारी बनिरहेको छ ।