वैदेशिक रोजगारीमा जाने अधिकांश ठगिने

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार १६:१९


विदुर: नुवाकोट जिल्लाबाट वैदेशिक रोजगारीमा गएका अधिकांश नागरिकले सम्झौताअनुसारको काम पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । नुवाकोटमा रहेको आप्रवासी स्रोत केन्द्रले उक्त तथ्याङ्क सार्वजनिक गर्दै साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा १२ जनाले सम्झौताअनुसारको काम नपाएकोे, दुईजना जेल परेको, एकजनाको वैदेशिक रोजगारकै क्रममा मृत्यु भएको, दुईजना सम्पर्कविहीन भएको र दुईजनामा स्वास्थ्य समस्या भएको तथ्य बाहिर ल्याएको छ ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको अध्यक्षतामा सुरक्षित वैदेशिक रोजगारका विषयमा पत्रकारसँग शुक्रबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा चालू आर्थिक वर्षको मङ्सिरसम्ममा १९ वटा प्राप्त गुनासोमध्ये १२ वटा सम्झौताअनुसारको काम नपाएकोे तथ्याङ्क केन्द्रकी प्रतिनिधि निरू सूचिकारले प्रस्तुत गरेकी थिइन् । सो अवसरमा मेयर पण्डितले सीप सिकेर मात्र वैदेशिक रोजगारमा जान आग्रह गर्दै वैदेशिक रोजगारीमा नगएर आफ्नै ठाउँमा केही काम गर्न जोड दिए । उनले युवालाई स्वरोजगार बनाउन नगरपालिकाले नीति तथा कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको बताए । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवम् शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको सहयोगमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा स्थानीय तहको सहयोगमा सामी परियोजना सञ्चालन भइरहेको छ । तर, आप्रवासी स्रोत केन्द्रमा जिल्लाभरबाट वैदेशिक रोजगारमा गएकाले गुनासो गर्न पाउँछन् । परियोजनाले सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना र परामर्श दिने, वैदेशिक रोजगारमा गएका परिवारका सदस्यलाई मनोपरामर्श दिने, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेलगायतका काम गर्दै आइरहेको छ ।