उपसभामुखबाट पुल उद्घाटन

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार १६:२१


शिवपुरी: नुवाकोट जिल्लाबाट निर्वाचित बागमती प्रदेशका उपसभामुख राधिका तामाङले शुक्रबार एक–एकवटा पक्की पुलको उद्घाटन र शिलान्यास गरेकी छिन् । शिवपुरी गाउँपालिका– २ मा पक्की पुलको उद्घाटन र शिलान्यास भएको हो ।

शिवपुरी गाउँपालिका– २ ज्यामिरे खोलामा निर्माण सम्पन्न भएको पुलको लागत दुई करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त पुल उपसभामुख तामाङकै पहलमा निर्माण भएको हो । वडा नं. २ को लप्कालुङ घट्टेखोला पुलको समेत उनले शिलान्यास गरेकी छिन् । यो पुल निर्माणका लागि समेत तामाङकै पहलमा दुई करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ । पुलको लागत अनुमान भ्याटसहित दुई करोड ९८ लाख २१ हजार रुपैयाँ रहेकोमा जलुकेनी–बागेश्वरी जेभी नुवाकोटले दुई करोड ६ लाख तीन हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख ओमकुमार शाहका अनुसार गत असार २२ गते ठेक्का सम्झौता गरिएको उक्त पुलको ०७९ पुस २१ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।

ज्यामिरे खोला पुल निर्माण भएपछि लिखु, छाप, तलाखु, महाकालीलगायत नुवाकोटको पूर्वी भेगका नागरिकले उत्पादन गरेको कृषिजन्य वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । लप्कालुङ घट्टेखोला पुल निर्माण सम्पन्न भएपछि थप सहजता हुनेछ । उपसभामुख राधिका तामाङ र सङ्घीय सांसद हितबहादुर तामाङको पहलमा केन्द्रीय सरकारमातहतमा परेको गुर्जेभञ्ज्याङ खोलेगाउँ हुँदै मानेभञ्ज्याङदेखि दुप्चेश्वरसम्म जाने मोटरबाटोको काम तीव्र रूपमा निर्माण भइरहेको छ । गुर्जेभञ्ज्याङ खोलेगाउँसम्मको मोटरबाटो निर्माण सुरु भइरहेको छ । खोलेगाउँदेखि मानेभञ्ज्याङसम्मको बाटो टेन्डर हुने प्रक्रियामा छ । मानेभञ्ज्याङदेखि दुप्चेश्वरसम्मको मोटरबाटोको डिपिआर तयार भइरहेको उपसभामुख राधिका तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताइन् ।