Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

बेत्रावतीधाममा ३० हजारभन्दा बढीले श्राद्ध गरे

त्रिशूली प्रवाह
४ साल अगाडी

बेत्रावती: रसुवा र नुवाकोट जिल्लाको संगमस्थल बेत्रावतीधाममा आइतबार औँसीको दिन ३० हजारभन्दा बढीले पितृतर्पण (श्राद्ध) गरेका छन् । पौषशुक्ल औँसीमा मुलुकको विभिन्न स्थान जुम्ला, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवालगायत टाढा÷टाढाको मानिससमेत यस पवित्र भूमिमा आफ्नो दिवंगत पितृको सम्झनामा ३० हजारभन्दा बढीले तर्पण दिएको शशि डङ्गोलले जानकारी दिए ।

चार धाममध्येको एकधाम बेत्रावती हिन्दू धर्मावलम्बीको पुराणअनुसार कालकुट विष पिई त्यसको राप शान्त पार्न भौँतारिएर हिँडेका महादेवले त्रिशूल प्रहार गर्दा उत्पन्न भएको त्रिशूली नदी र महादेवले नै वेदको लौरो खोपेर उत्पत्ति भएको बेत्रगंगास्थित फलाखु खोलाको संगमस्थलसमेत भएकोले पवित्र भूमिका रूपमा परिचित छ । पुस १८ गते श्राद्ध गर्न आएका एक श्रद्धालु सुन्दर श्रेष्ठले चार गयामध्ये एक गयाको रूपमा परिचित उतरगया एक पवित्र भूमि गोसाइँकुण्ड, सलाखु, फलाखु, त्रिशूली गंगा मिसिएको ठाउँ सफा स्वास्थ आफ्नो दिवङ्गतको सम्झनामा श्राद्ध गरी पिण्ड सेलाउन पाउँदा स्वर्गमा वास हुने विश्वासले नै हाम्रो धर्म संस्कार, संस्कृति, परम्पराले गर्दा नै हामी मानिस मानिस भएर बाचेको बताए । यस पवित्र भूमि उत्तरगयाधाममा ०४९ सालमा योगी नरहरिनाथले कोटी होम लगाएपछि यसको महत्व सर्वत्र फैलिएको थियो ।

नेपाल र तिब्बतबीच १८४९ सालमा भएको ऐतिहासिक बेत्रावती सन्धि पनि यहीँ ठाउँमा भएको भन्ने भनाइ रहेको छ । यस उत्तरगया धाममा हरेक जात जातिले पितृकार्य गर्ने स्थल, पुषेऔँसीमा श्राद्ध, गाईजात्रामा लाखेनाच, ठूलो एकादशीमा फूलको डोली ल्याउने र भजनकीर्तन गरी नदी तार्ने, माघेसङ्क्रान्तिमा गोरु जुधाई गरिने, फागुमा सामूहिक होली, रामनवमी कृष्णाजन्माष्टमीमा विशेष मेला लाग्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह