निरन्तर सहकारीको नवौँ साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:१३


त्रिशूलीबजार: नुवाकोट जिल्लाको विदुर नगरपालिका–१ त्रिशूलीबजारमा रहेको निरन्तर बचत तथा ऋण सहकारी संस्था लि.को नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

विदुर नगरपालिका– १ का अध्यक्ष लेनिन रञ्जितले उद्घाटन गरेको साधारणसभाले भावी नीति, बजेट तथा कार्यक्रम र गत आ.व.मा गरेको कारोबार छलफल गरेर पारित गरेको छ । सो कार्यक्रममा सहकारीका अध्यक्ष सतानन्द रिजाल, सचिव लेखनाथ पौडेल, कोषाध्यक्ष देवेन्द्रप्रसाद घिमिरे र लेखा समितिका संयोजक दिवाकरराज शाक्यले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा उत्कृष्ट बचतकर्ता विनपा– १ का राधिका नापित र सविन बज्राचार्य, असल ऋणीमा विनपा– ९ डिहीबजारका सुनकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । सहकारीमा एक सय ७१ पुरुष र दुई सय ५६ महिला गरी चार सय २७ सेयर सदस्य र सेयरपुँजी ४२ लाख २८ हजार रहेको छ । आ.व. ०७७/७८ मा सहकारीले एक करोड ४२ लाख ८८ हजार बचत सङ्कलन र एक करोड ७० लाख ६५ हजार ऋण लगानी गरेको व्यवस्थापक राजकुमार नापितले जानकारी दिए ।