श्यामलेश्वरको पाँच कार्यकाल पूरा गरेका सञ्चालक सम्मानित

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:१७

विदुर: नुवाकोट जिल्लाको ढुङ्गेमा ०५२ सालमा स्थापना भई ०५८ सालदेखि कारोबार गर्दै आएको श्यामलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.को २५औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाको पाँच कार्यकाल सञ्चालक समितिमा बसेर योगदान पूरा गरेका पाँचजना सेयर सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पाँच कार्यकाल अध्यक्ष भइसकेका विष्णुप्रसाद लम्साल, उपाध्यक्ष (मरणोपरान्त) पूर्णबहादुर खड्गी, कोषाध्यक्ष रामकृष्ण राजभण्डारी, सदस्य कुलबहादुर बोगटी र इन्द्रराज शाक्य रहेका छन् । साधारणसभाको उद्घाटन जिल्ला सहकारी सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपानेले गरेका थिए । उनले पाँच कार्यकाल सफलताका साथ सञ्चालक समितिमा रहेर योगदान गरेका सञ्चालक समितिका पदाधिकारी र सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेको व्यवस्थापक सविनराज भण्डारीले जानकारी दिए । राष्ट्रिय सहकारी बैंक लि. नुवाकोटका शाखा प्रबन्धक प्रदीप अर्यालको समेत उपस्थितिमा भएको साधारणसभाले गत आ.व.को आय–व्यय अनुमोदन र भावी कार्ययोजना पारित गरेको छ ।

सहकारीमा दुई सय १० जना सेयर सदस्य र सेयरपुँजी एक करोड ६१ लाख २० हजार चार सय रुपैयाँ रहेको छ । जिल्ला सहकारी सङ्घको भवन विदुरमा कार्यालय रहेको श्यामलेश्वर सहकारीले आ.व. ०७७÷७८ मा आठ लाख १२ हजार ५२ रुपैयाँ नाफा गरेको प्रमुख व्यवस्थापक मधुप्रसाद लम्सालले जानकारी दिए ।