नुवाकोटबाट काङ्ग्रेसका चारजना केन्द्रीय सदस्य

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:४५

काठमाडौं: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटका डा. प्रकाशशरण महतसहित १० जनालाई शनिबार केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । काङ्ग्रेसको विधानअनुसार पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । महत मनोनीत भएसँगै नुवाकोटबाट केन्द्रीय सदस्यको सङ्ख्या चार भएको छ ।

१४औँ महाधिवेशनको निर्वाचनबाट डा. रामशरण महत, अर्जुननरसिंह केसी र बहादुरसिंह लामा निर्वाचित भएका थिए । १४औँ महाधिवेशनमा देउवालाई सभापतिमा विजय गराउन प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्नुहुन १० जना नेतालाई देउवाले शनिबार र तीनजनालाई आइतबार केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । मनोनीत हुनेमा देउवा प्यानलबाट महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत र उपसभापतिमा पराजित विजयकुमार गच्छेदार रहेका छन् । मनोनीत हुने अन्य नेतामा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, उमा रेग्मी, सुजता कोइराला र मीनकुमार विश्वकर्मा रहेका छन् । आइतबार मनोनीत हुनेमा देउवा प्यानलबाट महामन्त्रीमा पराजित प्रदीप पौडेल, सभापतिमा पराजित कल्याण गुरुङ र जीवनबहादुर शाही रहेका छन् ।