माता मनकामनाको आठौँ साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:५०


ढुङ्गे: विदुर नगरपालिका– १ ढुङ्गेमा ०७० देखि कारोबार सञ्चालन गर्दै आएको माता मनकामना बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले उद्घाटन गरेको साधारणसभाले सहकारीको भवन निर्माण गर्न जग्गा खरिद गर्ने प्रस्ताव पारित गरेको छ । सहकारीका अध्यक्ष नवीनकृष्ण राजभण्डारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र थपलियाले प्रस्तुत गरेको आय–व्यय तथा बजेट कार्यक्रम प्रतिवेदन र लेखा समितिका संयोजक दीपकप्रसाद रिजालले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदन साधारणसभाले बृहत् छलफल गरी पारित गरेको छ । सहकारीको कुल सेयर सदस्य दुई सय ४६ र सेयरपुँजी एक करोड ६७ हजार तीन सय रहेको छ । साधारणसभाले सहकारीको सेयरपुँजी तीन करोड पुर्यौने, कार्यक्षेत्र विदुर नगरपालिका र छिमेकी गाउँपालिकासम्म विस्तार गर्नेलगायतको निर्णय गरेको छ ।

कोरोना महामारीको बीचमा पनि सहकारीले ऋण, ब्याज, बैंकबाट ब्याज र अन्य आम्दानी गरेर गत आ.व. मा ३० लाख ८७ हजार तीन सय ५३ आम्दानी गर्न सफल भएको छ । आ.व. ०७६/७७ मा ३७ लाख ६७ हजार आठ सय सात रुपैयाँ आम्दानी गरेको सोही आ.व. मा ३२ लाख ९० हजार चार सय ८१ जम्मा खर्च गरेको आय–व्यय प्रतिवेदनमा उल्लेख छ । आ.व. ०७७/७८ मा २६ लाख ८५ हजार आठ सय ५५ र आगामी आ.व. ०७८/७९ मा ३२ लाख ७५ हजार खर्च र ४२ लाख आम्दानी गर्ने प्रस्ताव गरिएको छ ।