शुभप्रभात सहकारीको भवन निर्माण गर्न उपसमिति गठन

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:५४


विदुर: नुवाकोट जिल्लाभर कार्यक्षेत्र रहेको शुभप्रभात बचत तथा ऋण सहकारी लि. विदुर नगरपालिका– २ इन्द्रचोकले चालू आवभित्र सहकारीको भवन निर्माण गर्न उपसमिति गठन गरेको छ ।

विदुर नगरपालिका– २ भुटोलबजारमा सहकारीको नाममा रहेको पाँच आना दुई पैसा एक दाम क्षेत्रफल जग्गामा भवन निर्माण गर्न उपसमिति गठन गरी प्राविधिकको सहकार्यमा नापजाँच गराई डिजाइनका लागि कार्य अगाडि बढाइसकेको छ । शनिबार सम्पन्न सहकारीको १४औँ वार्षिक साधारणसभामा अध्यक्ष महेन्द्रलाल श्रेष्ठले सहकारीको कार्यालय सञ्चालनका लागि भवन निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । साधारणसभाको उद्घाटन विदुर नगरपालिका मेयर सञ्जु पण्डितले गर्दै सहकारी संस्थाले देशको आर्थिक समृद्धिमा टेवा पुर्यौने सक्ने उल्लेख गरे ।

उक्त साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले आर्थिक वर्ष ०७७/७८ मा संस्थाको सम्पूर्ण खर्च कटाई सहकारीले ३१ लाख ६८ हजार सात सय ९५ रुपैयाँ नाफा गरेको बताए । उनले हाल सहकारीमा चार करोड ८८ लाख ३३ हजार ३१ रुपैयाँ मौज्दात रहेकाले लगानीयोग्य पुँजी अभाव नरहेको उल्लेख गरे । सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष ०७७÷७८ को लेखापरीक्षण प्रतिवेदन तथा आ.व. ०७८/७९ को अनुमानित आय–व्ययबारे जानकारी दिँदै विदुर नगरपालिका– २ को मुख्य बजार क्षेत्रमा आफ्नै भवन निर्माण गर्ने बताए । उनले सेयर सदस्य थप गरी कार्यक्षेत्र रसुवा र धादिङमा समेत सेवा केन्द्र्र विस्तार गर्ने लक्ष्य रहेको बताए । २५ जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले एक हजार नौ सय ६६ जना सेयर सदस्य रहेका छन् ।

कार्यक्रममा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेश श्रेष्ठ, जिल्ला सहकारी सङ्घ नुवाकोटका उपाध्यक्ष शिव अधिकारीले प्रत्येक टोल–टोलमा सहकारी रहेको भन्दै सहकारी मर्ज गरेर सङ्ख्यात्मकभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाल सुनचाँदी तथा कला व्यवसायी सङ्घका अध्यक्ष केशर सेन्चुरीले सहकारीले स्थापनाको केही वर्षमै राम्रो सफलता हात पारेको भन्दै खुसी व्यक्त गरे । साधारणसभामा सहकारीको उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋण कारोबार गर्नेलाई सम्मान गरिएको थियो । साधारणसभामा सगरमाथा इन्स्युरेन्सका पब्लिक डाइरेक्टर गजेन्द्रलाल श्रेष्ठ, विदुर नगरपालिका– २ का वडासदस्य सबु मिजार, अंशुबाटिका कृषि सहकारी संस्थाका अध्यक्ष रामलाल डङ्गोल, सिर्जनात्मक बचत तथा ऋण परिचालन सहकारी संस्थाका उपाध्यक्ष दिवाकर शर्मा, भैरवी माविका प्रध्यानाध्यापक प्रेमचन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।