‘सञ्चारकर्मीको समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध छ’

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०९:००

हेटौँडा: बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सञ्चार क्षेत्रको समग्र विकास र सञ्चारकर्मीको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सञ्चार क्षेत्रको समग्र विकास र सञ्चारकर्मीको समस्या समाधानका लागि प्रदेश सरकार सबैले अनुभूत गर्ने गरी कार्ययोजना निर्माणको क्रममा रहेको उनले बताए ।

प्रदेश सरकारको सफलतामा सञ्चार क्षेत्रको रचनात्मक भूमिका अपेक्षित रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको तथ्यलाई आत्मसात गर्दै प्रदेश सरकार सञ्चार क्षेत्रसँगको सहकार्यको पाटोलाई मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए । मंगलबार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको १०बुँदे मागपत्र बुझेपछि मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशका सबै जिल्लामा सूचना केन्द्र स्थापनाको कामलाई तत्काल अघि बढाउने, हेटौँडामा पत्रकार महासङ््घको प्रदेश कार्यालय निर्माणको प्रक्रिया सुरु गर्ने, सबै पत्रकारलाई बिमाको दायरामा समेट्ने र समस्याग्रस्त सञ्चारमाध्यमको दिगोपनाका लागि आवश्यक नीति तर्जुमा गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस क्रममा मुख्यमन्त्री पाण्डेले सरकार र सञ्चार क्षेत्र दुवैले एक–अर्काप्रति अपनत्वबोध गर्न सक्ने अवस्था निर्माणका लागि दुवै पक्ष जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । त्यसक्रममा पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटा, उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारुमगरले बागमती प्रदेशभित्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको समस्या अवगत गराउँदै समस्या समाधानका लागि १०बुँदे मागपत्र प्रस्तुत गरेका थिए । मागपत्रमा सञ्चारकर्मीका लागि विधागत पत्रकारिता तालिम, छात्रवृत्ति, बिरामी पत्रकारको उपचार, चितवन र काभ्रेमा तालिम केन्द्रको स्थापना, कोरोनाका कारण समस्यामा रहेका सञ्चारमाध्यमलाई सहयोग, नीतिगत विज्ञापन प्रणालीको व्यवस्थापनलगायतका माग समाविष्ट रहेका छन् ।