गोसाइँकुण्ड चौतारी सहकारी एकीकरणपछिको पहिलो वार्षिक साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०९:१३

बट्टार: आर्थिक सहभागितामा सम्पूर्ण सदस्यलाई समावेश गर्दै पारस्परिक आधारमा शिक्षा, तालिम, सूचनामार्फत सामाजिक प्रतिष्ठामा वृद्धि गर्नु सहकारीको मुख्य सिद्धान्त रहेको तथ्यलाई आत्मसात् गर्दै आएको गोसाइँकुण्ड चौतारी बहुउद्देश्यीय सहकारी संस्था लि. बट्टार, नुवाकोटको एकीकरणपछिको पहिलो साधारणसभा शनिबार सम्पन्न भएको छ ।

०५८ मङ्सिर ११ गते स्थापना भएको ॐ श्री गोसाइँकुण्ड सहकारी संस्था लि. बट्टार र ०६६ असार ६ गते दर्ता भएको चौतारी बचत तथा ऋण सहकारी संस्था विदुरबीच ०७७ फागुन ७ गते एकीकरण सभाको निर्णयबमोजिम ०७७ चैत २ गते प्रदेश सहकारी ऐन, २०७६ अनुसार एकीकरण भई गोसाइँकुण्ड चौतारी बहुउद्देश्यीय सहकारी संस्था बनेको छ । नुवाकोट जिल्लामा मर्जर हुने सहकारी संस्थामध्ये यो पहिलो हो । एकीकरणपछिको पहिलो वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर पण्डितको अध्यक्षतामा सम्पन्न भएको छ । अध्यक्ष पण्डितले संस्थाको आ.व. ०७७/७८ प्रतिवेदन तथा आ.व. ०७८/७९ को नीति तथा कार्यक्रम पेस गरेका थिए भने संस्थाको कोषाध्यक्ष दीपकराज सिलवालले संस्थाको आ.व. ०७७/७८ को आर्थिक प्रतिवेदन तथा आ.व. ०७८/७९ को बजेट र लेखा समितिको संयोजक ध्रुवप्रसाद अर्यालले लेखा समितिको तर्फबाट लेखा समितिको प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदन साधारणसभामा बृहत् छलफल गरी परिमार्जनसहित पारित भएको थियो । जिल्लाको पहिलो प्रदेशस्तरीय कार्यक्षेत्र भएको उक्त सहकारी संस्थाको सेयर सदस्य तीन हजार तीन सय ४५ जना र सेयरपुँजी तीन करोड १२ लाख ८५ हजार पाँच सय रुपैयाँ रहेको छ । सहकारीले आ.व. ०७७/७८ मा कुल कारोबार २७ करोड रहेको छ । गत आ.व.मा संस्थाको दुई लाख ७४ हजार दुई सय ६६ रुपैयाँ २८ पैसा मात्र रहेको छ । विश्वमा फैलिएको कोभिड– १९ को प्रभावले संस्थाको कुल नाफामा कमी आएको छ ।

सो अवसरमा उत्कृष्ट कारोबार गर्ने समूह प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः सरस्वती निर्धन उत्थान केन्द्र, विदुर– ६, महारानीडिही, शिवशक्ति निर्धन उत्थान केन्द्र, विदुर– ८ हात्तीगौँडा, शिवसंगम निर्धन उत्थान केन्द्र, संगमचोक, सरस्वती उत्थान केन्द्र, विदुर– २, कालिकामाई निर्धन उत्थान केन्द्र, विदुर–१०, पंखेश्वर निर्धन उत्थान केन्द विदुर ख, विदुर १३ रिपका समूह र उत्कृष्ट बचतकर्ता कृष्णकुमारी भट्टराई, उकृष्ट ऋणी सीता शिवभक्ति विदुर–८ लाई सम्मान गरिएको थियो । सो अवसरमा संस्थाका पूर्वसञ्चालक तथा निर्धन उत्थान उपसमितिका सदस्य स्व. रामकृष्ण रिमाललाई मणोपरान्त सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, जिल्ला सहकारी सङ्घका लेखा सुपरिवेक्षण समितिका नारायण श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक विदुर शाखाका प्रमुख प्रदीप अर्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त साधरणसभाले आगामी चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत सर्वसम्मत चयन गरेको छ । सहकारी एकीकरण भावनाअनुसार विश्वमा परेको कोभिडको असर नेपालमा पनि परेकोले यस संस्था पनि अछुतो नरहेको परिवेशमा संस्थाले अग्रगामी पथमा लम्कन नसकेकाले जसको परिकल्पना उसैले कार्यान्वयन भन्ने भावनाअनुसार पुनः एक कार्यकाल एकीकरणपछिको समितिलाई नै निरन्तरता दिने प्रस्ताव सेयर सदस्यले पारित गरेका थिए । उक्त प्रस्तावअनुसार अध्यक्षमा इन्द्रबहादुर पण्डित, उपाध्यक्षमा बाबुराम लामिछाने, सचिवमा सुकुमान डङ्गोल, कोषाध्यक्षमा दीपकराज सिलवाल, सदस्यमा गंगालाल श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, राजेन्द्रबहादुर प्याकुरेल, सन्तोष उप्रेती, लक्ष्मी प्रधान र लेखा समितिको संयोजकमा ध्रुवप्रसाद अर्याल, लेखा समितिका सदस्यमा ऋषिप्रसाद रिजाल र विश्वराज भट्टराईलाई निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज कँडेलले गरेका थिए । निर्वाचित सञ्चालक समितिले सेवा केन्द्र थप गर्ने, ग्रामीण भेगमा विभिन्न सेवा प्रदान गर्ने, सदस्यता विस्तार गर्ने, संस्थागत सुशासनमा वृद्धि गर्ने, कार्यक्षमता बढाउने, कार्यक्षेत्र रसुवा तथा धादिङ थप जिल्लामा विस्तार गर्ने, संस्थाको उद्देश्यअनुरूप कार्य गर्ने क्षेत्र थप गर्ने, ऋण असुलीमा जोड दिने, महिला सशक्तीकरण, वित्तीय पहुँच वृद्धि गर्ने, लगानीका बहुक्षेत्रको पहिचान गर्ने कार्ययोजना रहेको संस्थाका सचिव सुकुमान डङ्गोलले बताए ।