फुटबल प्रतियोगिताको उपाधि युनाइटेडलाई

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०९:१५

बट्टार: नुवाकोट युनाइटेडले नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ । शनिबार सम्पन्न फाइनल खेलमा न्यु स्टार क्लब त्रिशूलीलाई ३–१ गोल अन्तरले पराजित गरी युनाइटेडले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसस्थित मैदानमा भएको फाइनल भिडन्तमा उपाधि जित्ने क्रममा नुवाकोटले न्यु स्टार क्लबलाई पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको थियो । नुवाकोट युनाइटेडलाई उपाधि दिलाउन साहिल नगरकोटी, सुनिल कुमाल र सन्तोष थापाले गोल गरेका थिए । त्यस्तै, न्यु स्टार क्लबको तर्फबाट ओमप्रकाश तामाङले सान्त्वना गोल गरेका थिए । प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड फुटवल क्लबले ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता भएको न्यु स्टार क्लबले २५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नुवाकोट फुटबल सङ्घले आयोजना गरेको प्रतियोगितामा १० क्लबले सहभागिता जनाएका थिए । प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड फुटबल क्लबले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने नुवाकोट फुटबल सङ्घका महासचिव विष्णु चालिसेले जानकारी दिए ।