+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट र रसुवा प्रशासनद्वारा २५ जनाभन्दा बढी भेला हुन रोक

नुवाकोट र रसुवा प्रशासनद्वारा २५ जनाभन्दा बढी भेला हुन रोक
त्रिशूली प्रवाह
४ साल अगाडी

Utsuk Books & Stationery

विदुर: काठमाडौं उपत्यकासँगै देशैभरि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नुवाकोट र रसुवा जिल्लाका प्रशासन कार्यालयले बुधबारदेखि बाहिर हिँडडुल तथा आवत–जावत गर्दा जनस्वास्थ्यको मापदण्ड तथा सामाजिक दूरी पूर्ण रूपमा पालना गर्न निर्देशन जारी गरेका छन् । दुवै जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी कुनै मेला, महोत्सव, पार्टी, समारोह, राजनीतिक दलको गतिविधिमा समेतमा रोक लगाएको छ ।

दुवै जिल्लामा कोरोना सङ्क्रमणाको गति बढ्दै गइरहेको निष्कर्षसहित सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले र रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले मंगलबार जारी गरेको विज्ञप्तिमा पुस २८ गतेबाट अर्को आदेश नभएसम्मका लागि सार्वजनिक स्थलमा सबै प्रकारको राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी कार्यक्रम नगर्ने–नगराउने भनिएको छ । तर, नियमित रूपमा आवश्यक कार्यक्रम गर्नुपर्ने भएमा भने प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने आदेशमा उल्लेख छ । यसैगरी, २५ जनाभन्दा बढी व्यक्ति भेला हुने गरी कुनै पनि मेला, महोत्सव तथा सामाजिकलगायतका कार्य नगर्न पनि आदेशमा भनिएको छ । घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ ।

त्यसैगरी, ७ माघदेखि कार्यालय, होटेल/रेस्टुरेन्ट, सिनेमा हल, पार्कलगायतमा प्रवेश गर्नेहरूलाई कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । माघ ७ गतेबाट जिल्लाका सबै कार्यालयमा सेवा लिन आउँदा खोप कार्ड अनिवार्य गरिएको छ । खोप लगाएको कार्डको फोटोको प्रमाण मोबाइलबाट समेत देखाउन सकिने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह