विद्युतीय सवारी साधान आयात हुँदा रसुवा भन्सारको राजश्व ६ महिनामा ४ अर्ब ३३ लाख

  • त्रिशूली प्रवाह
  • २० माघ २०७८, बिहीबार ०६:४५

धुन्चे, चीनसँगको आयात–निर्यात हुने रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–२ टिमुरेमा रहेको रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको झण्डै ७५ प्रतिशत राजश्व उठाउन सफल भएको छ । साउनदेखि पुस मसान्तसम्म ४ अर्ब ३३ करोड ४५ लाख ९ हजार संकलन भएको भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।

आयातित साना–ठूला सवारी साधन, हाईड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता, चप्पल, बच्चाको खेलौना, रोल कपडा, विघुतिय सामाग्री जस्ता अन्य सामग्री रहेका छन् । यस वर्ष भन्सारले ६ अर्ब ८१ करोड ११ लाखको राजश्वको लक्ष्य राखेको थियो । तर सोचे भन्दा बढी मात्रामा सवारी साधन आयात भएपछि राजश्वमा बृद्धि भएको भन्सार प्रमुख मैनालीले बताउनु भयो । कोरोना संक्रमण हुन नदिनका लागि उच्च सर्तकता अपनाएर सामान पल्टी गर्दा क्वारेन्टाईनमा राखिएका कामदारले मात्रै मितेरी पुलमा परिचालित गरिएको छ । कोरोना सुरूवातदेखि हालसम्मको रेर्कड हेर्दा यस वर्ष साँढे दुई गुणाले राजश्व बढेको छ । गत वर्ष यतिखेर १ अर्ब ७२ करोड २४ लाख २ हजार मात्रै राजश्व असुली भएको थियो । एक हजार भन्दा बढी कार, जिप, मिनीबस, माईक्रो बस, एम्बुलेन्स, ट्रिपर जुमक्रेन आयात हुँदा राजश्व ह्वात्तै बढेको छ । यो नाकाबाट विद्युतिय सवारी साधान कार मात्रै ५ सय भन्दा बढी भित्र्एिको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनको अन्तःशुल्क र भन्सार महशुल घटाएसँगै तिनको आयात ह्वात्तै बढेको छ । विगतमा विद्युतीय सवारी साधनमा अत्याधिक मात्रामा कर लगाएपछि विद्युतीय सवारी साधनको आयात निकै कम भएको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्ने कर घटाएपछि यसको आयात झण्डै ५ गुणाले बढेको छ । मन्त्री पौडेलले ल्याएको बजेटमा सय किलोबाट क्षमताको विद्युतीय सवारी साधन आयात गर्दा १० प्रतिशत भन्सार महशुल लाग्ने ब्यवस्था गरेको छ । त्यसैगरी, दुईसय किलोवाटसम्मको आयात गर्दा १५ प्रतिशत र दुई सयदेखि तीनसय किलोवाट क्षमताको आयात गर्दा ३० प्रतिशत भन्सार तिरे पुग्ने भयो । यसले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनतर्फ उपभोक्ताको आकर्षण ह्वात्तै बढाएको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा लाग्ने कर ब्यापक मात्रा घटाएपछि तिनको आयात ह्वातै बढेको हो । भन्सार विभागका अनुसार रसुवागढी नाकासहित चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा कार, जीप र भ्यान गरी ११ सय ३ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । जबकि गत आर्थिक वर्षभरीमा २ सय ६१ वटा मात्रै विद्युतीय सवारी साधन आयात भएको थियो । गत आ.व.को तुलनामा चालु आ.व.को ६ महिनामा झण्डै ५ गुणा विद्युतीय सवारी भित्र्सिकेका छन् ।

भन्सार विभागले चालु आ.व.को ६ महिनामा ३ अर्ब २४ करोड ३३ लाख खर्चेर ११ सय ३ वटा विद्युतीय सवारी साधन आयात भएको जनाएको छ । नाडा अटोमोबाईल एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाले सरकारले भन्सार र अन्तःशुल्क घटाएसँगै विद्युतीय सवारी साधनको आयात बढेको बताए । उनले भने, ‘सरकारले विद्युतीय सवारी साधनको आयातमा लाग्दै आएको अन्तःशुल्क र भन्सार महसुल घटाएसँगै विद्युतीय सवारी साधनको आयात बढेको छ ।’ चालु आ.व.को ६ महिनामा आयात भएका विद्युतीय सवारी साधनमध्ये १ सय ५० देखि २ सय किलोबाट क्षमताका ६ सय ९२ इलेक्ट्रिक कार, जीप र भ्यान छन् । ६ महिनाको अवधिमा सबैभन्दा धेरै यी खालका विद्युतीय सवारी साधन आयात गरिएका हुन् ।

विभागले ६ सय ९२ वटा विद्युतीय सवारी आयात गर्दा २ अर्ब १३ करोड रूपैयाँ खर्च भएको जनाएको छ । त्यसैगरी चालु आ.व.को ६ महिनामा १ अर्ब ४ करोड रूपैयाँ बराबरको सय किलोबाट क्षमताका इलेक्ट्रिक कार, जीप र भ्यान ३ सय ९६ वटा सवारी साधन आयात गरिएको छ । सोही अवधिमा एक सय देखि १ सय ५० किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप र भ्यान १३ वटा सवारी साधन आयात गरिएको थियो । यसमा ३ करोड ६७ लाख रूपैयाँ खर्च भएको छ । तीनसय किलोवाट क्षमताको दुईवटा विद्युतीय सवारी साधन आयात भएको छ । यसका लागि २ करोड ५६ लाख रूपैयाँ बाहिरिएको छ । त्यस्तै ६ महिनाको अवधिमा २७ करोड २७ लाख रूपैयाँ खर्चेर २९ सय ५१ वटा तीनपाङ्ग्रे इलेक्ट्रिक सवारी साधन आयात गरिएको थियो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ को मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा ३७ वटा चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका थिए । त्यसैगरी, आर्थिक वर्ष २०७६/०७७ को मंसिर मसान्तसम्म ३ सय १५ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । समग्रमा गत आर्थिक वर्षमा जम्मा २ सय ६१ वटा मात्रै विद्युतीय सवारी साधन आयात भएको थियो। अध्यक्ष थापा नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र विद्युतीय सवारी साधनको मूल्य उस्तै भएकाले पनि त्यसमा सर्वसाधारण आकर्षित भएको बताउँछन् । ‘विदेशमा पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधन केही महँङ्गा छन्,’ उनले भने, ‘नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीयको कर कम भएकाले यसतर्फ सर्वसाधारणको आकषण बढेको हो ।’

नाडाका अनुसार पछिल्लो समय वातावरणमैत्री विद्युतीय सवारी साधनतर्फ सर्वसाधारणको आकर्षण हुनुमा पेट्रोलियमको मूल्य पछिल्लो समय अत्याधिक बृद्धि हुनु, विद्युतीय सवारी साधनको मूल्य निरन्तर घट्दै जानुलगायत छन् । अध्यक्ष थापाले विद्युतीय सवारी साधनको आयात बढ्नु राम्रो भएपनि सरकारले एन्टी डम्पिङ ऐन बनाउनु आवश्यक रहेको बताए । ‘विद्युतीय सवारी साधन पनि कस्ता मापदण्ड र गुणस्तरका आयात गर्ने भनेर सरकारले एन्टी डम्पिङ ऐन ल्याउन जरुरी छ,’ उनले भने, ‘जथाभावी ढंगले विद्युतीय सवारी भित्र्याउँदा पनि तिनका ब्याट्रीलगायतको ब्यवस्थापनमा जटिल समस्या आउन सक्छ । त्यसतर्फ सरकार सचेत हुन जरुरी छ ।’