विद्युत् खपत : कसरी बढाउनु

  • त्रिशूली प्रवाह
  • २० माघ २०७८, बिहीबार १६:३०



  • हरिप्रसाद रिमाल

१. अहिले शासनसत्तामा बसेकाहरू जनतासँग आह्वान गरिरहेका छन्, ‘विद्युत् खपत बढाऊ ! विद्युत् खपत बढाऊ !’ कसरी बढाउने त जनताले विद्युत् खपत ? पहिले सर्वसाधारण जनताकै कुरा गरौँ न के भयो भने विद्युत् खपत बढाउन सक्छन् त जनताले ? एकै वाक्यमा भन्ने हो भने सरकारले विद्युत् महसुल घटाइदियो भने जनताले अनिवार्य रूपमा प्रयोग गरिरहेका खाना पकाउने ग्यास विस्थापित हुन सक्छ र जनताले विद्युतीय चुलोको प्रयोग गर्न थाल्छन् । त्यसका लागि पहिले सरकार उदार हुनुप¥यो ! महसुल घटाउनुप¥यो । छिमेकी सानो देश भुटानले कसरी विश्वमै सबैभन्दा सस्तो दरमा विद्युत् महसुल लिएर जनतालाई त्यसको प्रयोगमा उत्साहित गरिरहेको छ त्यसबाट सिक्नुप¥यो । महसुल घटाउनचाहिँ दाँतबाट पसिना निकाल्ने अनि ‘विद्युत् खपत बढाऊ’ भन्ने हो भने सरकारका त्यस्ता नकच्चरा कुरा कसरी सुन्न र सोअनुसार गर्न सक्छन् त जनता ?
महसुल कम भयो भने ग्यासको आयातमा खर्च हुने विदेशी मुद्रा मज्जासँग बचत गर्न सकिन्छ ।


२. विद्युत् खपत बढाउने अर्को महत्वपूर्ण उपाय विद्युतीय यातायातका साधनको प्रयोग हो । दुर्भाग्य यस देशमा यस्ता विद्यावारिधिधारी अर्थशास्त्री व्यक्ति पनि अर्थमन्त्री भए, जसले आफ्ना मानिसलाई पोस्न चकलेटमा भन्सार महसुल घटाएर विद्युतीय साधनको आयातमा भन्सार महसुल बढाइदिए । अर्का त्यस्तै उपाधिधारी अर्थशास्त्री अर्थमन्त्रीले विद्युत साधनको आयात बढे तिनमा प्रयोग भएको ब्याट्री कहाँ लगेर थन्क्याउने ? भन्ने लबस्तरो तर्क अधि सारेर विद्युतीय सवारीसाधनलाई निरुत्साहित पारे । अब सरकारले हिम्मतिलो आँट गरेर निजी र सार्वजनिक साधनको प्रयोग बढाउन त्यस्ता साधनमा भन्सार महसुल घटाइदिनुपर्छ । त्यसो भयो भने पेट्रोलियम पदार्थको आयात ह्वात्तै घटाउन सकिन्छ र त्यसबाट विदेशी मुद्राको सञ्चिति बढ्नाका साथै वातावरणीय क्षेत्रमा समेत उल्लेखनीय सकारात्मक प्रभाव पर्छ ।


३. राणाकालमा सञ्चालन भएको हेटौँडा—काठमाडौं रोपवे (केबुलकार) ब्युँताउने र अन्यत्र पनि कहाँ–कहाँ सकिन्छ पहाडी भेगमा केबुलकार स्थापना प्राथमिकताका साथ गर्न सके विद्युतीय खपत बढ्नुका साथै ढुवानी भाडा पनि मजासँग घट्ने थियो । पेट्रलियम पदार्थ कम खपत भए यसबाट पनि विदेशी मुद्राकै बचत हुन्थ्यो ।


४. उद्योगधन्दालाई प्रोत्साहन गर्दा पनि विद्युत् खपत बढ्थ्यो । तल्लो भागबाट पानी तान्न पम्पको मूल्यमा अनुदान दिएर विद्युत् महसुल घटाउँदा सिँचाइको सुविधा बढी कृषि उत्पादन बढ्थ्यो र विदेशबाट आयात गरिने तरकारी, फलफूल र अन्नबालीमा कमी आउँथ्यो ।


५. यति गरिसकेपछि विद्युत् खपत भएन भने अनि निकासीको कुरा गरे हुन्थ्यो । अहिले त कामभन्दा कुरा नै बढी भइरहेको छ । सरकारमा बस्नेहरू काम कम र कुरा बढी गरिरहेका छन् । सार्वभौम राष्ट्रका निम्ति कसैले दिन लागेको रु. ५५ अर्बको दान के हो र ? त्यसलाई ५५ अर्ब डलर मात्र होइन कि खर्ब डलर जस्तै ढङ्गले व्याख्या गरिएको छ । त्यसलाई पनि विद्युत् विकाससँगै लगेर जोडी त्यो अनुदान नलिए यस देशमा विद्युत्को विकास नै ठप्प हुने जस्तो गरी कोकोहोलो मच्चाइएको छ ।

सामरी, नुवाकोट
हल : कामपा–५, हाँडीगाउँ
(लेखक पूर्वप्रशासक, आध्यात्मिक चिन्तक तथा साहित्यकार हुन् ।)