स्पार्कललाई इन्टरनेसनल स्कुल अवार्ड

  • त्रिशूली प्रवाह
  • २० माघ २०७८, बिहीबार १६:३२

कोलनी: नुवाकोट जिल्लाको विदुर नगरपालिका– ९ कोलनीमा सञ्चालित स्पार्कल इन्टरनेसनल स्कुलले इन्टरनेसनल स्कुल अवार्ड २०२१–२४ प्राप्त गरेको छ ।


ब्रिटिस काउन्सिलद्वारा आयोजित इन्टरनेसनल स्कुल अवार्ड २०२०÷०२१ मा छनोट भएको स्पार्कलले विद्यार्थीलाई पढाइको अतिरिक्त अन्य क्रियाकलाप गरेर अवार्ड जितेको हो । स्पार्कलले शैक्षिक क्रियाकलापको अलावा खेलकुद, स्थानीय चाडपर्वमा कार्यक्रम गरेर, गोरुजुधाइलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरेर, चेलिबेटी बेचबिखन हुनुको कारण र रोकथामका उपायमा छलफल चलाएर, लघु तथा घरेलु हस्तकलाका सामग्री निर्माण र महिलाको महिनावारीसम्बन्धी विद्यार्थीलाई जानकारी दिएर अनुसन्धानमा सहभागी गराएकोलगायतका क्रियाकलाप गर्दै आइरहेको छ । फोहोरमैला व्यवस्थापनमा स्थानीयसँग सहकार्य गरेर स्कुलले वरपरको क्षेत्रको सरसफाइ र वातावरण स्वच्छ राख्न उदाहरणीय कार्यसमेत गरिरहेको छ । स्पार्कलले यो अवार्ड गत वर्ष पनि प्राप्त गरेको थियो । दोस्रो वर्ष पनि अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा छनोट भएर जित्नुमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको अमूल्य सहयोग र सद्भाव रहेको प्रधानाध्यापक यादव अधिकारीले बताए । यो अवार्डले चुनौती र अवसर थपिएको उनले भनाइ छ ।


आगामी दिनमा स्कुलको शैक्षिक कार्यक्रमलाई अझै गुणस्तरीय बनाउँदै जान यो अवार्ड कोसेढुङ्गा साबित हुने स्कुलले जनाएको छ । स्कुलमा अध्ययनरत विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा मापन गर्न आफ्नो प्रयास अन्तर्राष्ट्रिय अवार्डमा छनोट भएसँगै अझै मजबुत भएको स्कुलले विज्ञप्ति प्रकाशित गरेर बताएको छ । शैक्षिक गतिविधि तथा अतिरिक्त क्रियाकलाप नै यस अवार्ड छनोटको मुख्य विषयवस्तु भएको हुँदा यसलाई आधुनिक एवम् वैज्ञानिक रूपमा निरन्तर अगाडि बढाइने प्रतिबद्धता प्रधानाध्यापक अधिकारीले गरे । स्कुललाई अवार्डमा छनोट गराउन महत्वपूर्ण भूमिका निभाएका सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षक–शिक्षिका बधाईका पात्र रहेकोसमेत उनले बताए ।